Logo

राजनीति

राउटे प्रतिनिधिलाई मुख्यमन्त्री पाण्डेले दिए ५० हजार बाटोखर्च



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राउटे समुदायको मौलिक जीवनशैली, भाषा, संस्कृति र पहिचान संरक्षण गर्दै शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा सहज पहुँच सुनिश्चित गर्नुपर्ने बताएका छन्।

सुर्खेतबाट आएको राउटे समुदायको तीन सदस्यीय टोलीसँगको भेटमा मुख्यमन्त्री पाण्डेले समुदायको संरक्षण र अधिकार सुनिश्चित गर्नु सबै पक्षको साझा दायित्व भएको उल्लेख गरे।

भेटका क्रममा राउटे समुदायका मुखिया प्रकाशले आफ्नो समुदायको वर्तमान अवस्था, दैनिकी, जीवनशैली र विभिन्न समस्याबारे मुख्यमन्त्रीलाई जानकारी गराएका थिए। उनले समुदायका मौलिक संस्कृति, परम्परा र भोग्नुपरेका चुनौतीबारे पनि अवगत गराए।

सो अवसरमा राउटे प्रतिनिधिले आफ्नै हातले काठबाट तयार पारेको ‘कोटी’ ९कचौरा० मुख्यमन्त्री पाण्डेलाई मायाको चिनोस्वरूप प्रदान गरेका थिए।

मुख्यमन्त्री पाण्डेले राउटे समुदायको मौलिक पहिचान र परम्परामा असर नपर्ने गरी शिक्षा, स्वास्थ्य, सुरक्षा र अन्य आधारभूत आवश्यकतामा पहुँच विस्तार गर्नुपर्नेमा जोड दिए।

भेटको अन्त्यमा उनले राउटे प्रतिनिधिलाई यात्राखर्चस्वरूप ५० हजार रुपैयाँ सहयोग गरेका थिए।

राउटे समुदायका प्रतिनिधिहरू विभिन्न स्थानमा पुगेर स्वेच्छिक सहयोग संकलन गर्दै जीविकोपार्जन गर्दै आएका छन्। यसरी प्राप्त सहयोग नै उनीहरूको दैनिक गुजाराको मुख्य आधार रहँदै आएको छ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलवार २१:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।