काठमाडौं । ‘लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने नारासहित यस वर्षको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । अभियानकै अवसरमा यौन हिंसासम्बन्धी सरकारले तयार पारेको प्रस्तावित विधेयक अपूरो रहेको भन्दै त्यसमा थप सुधार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
बुधबार प्रतिनिधिसभाका सांसदहरूसँग आयोजित अन्तक्र्रियात्मक कार्यक्रममा प्रस्तावित विधेयकमा पाँचवटा विषयमा सुधार नगरे भविष्यमा बन्ने कानुन अपूरो हुने बताइएको हो ।
महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) र इक्वलिटी नाउले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा यौन हिंसासम्बन्धी प्रस्तावित विधेयक, वर्तमान कानुनी अवस्था, अन्तर्राष्ट्रिय अभ्यास र आवश्यक सुधारका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले विधेयकमा जबर्जस्ती करणीको परिभाषा, सहमतिको अर्थ, नजिकको उमेर समूहबीचको सम्बन्ध, वैवाहिक बलात्कार र हदम्यादसम्बन्धी व्यवस्था सुधार गर्नुपर्ने विषय प्रस्तुत गरेका थिए ।
आर्थिक वर्ष २०८१/०८२ मा नेपालमा भएका यौन हिंसाका घटनासम्बन्धी नेपाल प्रहरीको तथ्यांक प्रस्तुत गर्दै कुल अपराधमध्ये २९ प्रतिशत लैंगिक हिंसाका घटना रहेको जानकारी दिइयो । त्यस्तै, यौन हिंसाका ७८.५ प्रतिशत अभियुक्त पीडितका परिचित व्यक्ति रहेको र ६२.४ प्रतिशत पीडित बालिका रहेको तथ्यांक प्रस्तुत गरिएको थियो ।
अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी दिँदै अधिवक्ता श्रेष्ठले भारत, बंगलादेश, श्रीलंका तथा युरोपका विभिन्न देशमा दुई वर्ष वा सोभन्दा कम उमेर अन्तर भएका किशोर–किशोरीबीच सहमतिमा हुने यौन सम्बन्धलाई अपराध नमान्ने व्यवस्था रहेको उल्लेख गरेका थिए ।
छलफलमा सहभागी सांसदहरूले घरभित्रै यौन हिंसाका घटना बढी हुने गरेको, बालिका बढी पीडित हुने गरेको तथा बलात्कारपछि हत्या गर्ने कसुरदारलाई कस्तो सजाय दिने भन्ने विषयमा धारणा राखेका थिए ।
प्रतिनिधिसभामा एमालेकी सचेतक नीता घतानीले बदलिँदो परिस्थितिलाई सम्बोधन गर्ने गरी कानुन निर्माण गर्नुपर्नेमा जोड दिइन् । उनले यौन हिंसाका पीडकलाई कठोर सजायको व्यवस्था गर्नुपर्ने सुझाव दिइन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले नेपाल अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको पक्ष राष्ट्र भएकाले मृत्युदण्डको सजाय राख्न नमिल्ने बताइन् । यौन हिंसाका पीडकलाई अन्य अपराधका कसुरदारसरह सजाय दिएर मात्र नपुग्ने भन्दै उनले विशेष सजायको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।
नेकपाकी सांसद बलावती शर्माले पनि यौन हिंसाका कसुरदारलाई मृत्युदण्ड दिने व्यवस्था गर्न संविधान बाधक रहेको बताइन् ।
संविधानको धारा १६ ले मृत्युदण्डलाई निषेध गरेको उल्लेख गर्दै उनले भनिन्, ‘अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको नेपाल पक्ष राष्ट्र भएकाले मृत्युदण्ड सजाय दिने कानुन निर्माण गर्न सम्भव छैन, तर त्यस्ता अपराधलाई कठोर सजायको व्यवस्था गर्नुपर्छ ।’
छलफलमा सहभागी अधिकांश सांसदले यौन तथा लैंगिक हिंसा अन्त्यका लागि बलियो कानुन बनाउन ढिलाइ गर्न नहुने धारणा राखेका थिए । बलात्कारपछि हत्या गर्ने कसुरदारलाई दिइने आजीवन कारावासको सजायसमेत पर्याप्त नभएको विषय उठाइएको थियो ।
त्यस्तै, समान उमेर समूहका किशोर–किशोरीबीच सहमतिमा भएको यौन सम्बन्धका कारण कतिपयलाई सुधारगृहमा राखिएको भन्दै यस्तो अवस्थालाई कानुनले स्पष्ट रूपमा सम्बोधन गर्नुपर्ने सुझाव दिइएको थियो ।
कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै एफडब्लुएलडीका अधिवक्ता विनोदचन्द्र देवकोटाले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान प्रत्येक वर्ष मनाउँदै आएको बताए । सरकारले तयार पारेको यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा व्यापक छलफलपछि मात्रै कानुन निर्माणको प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
यौन हिंसाजस्तो गम्भीर विषयमा हतारमा कानुन बनाएर पछि पछुताउनुभन्दा पर्याप्त छलफल गरेर प्रक्रिया अघि बढाउनु बुद्धिमानी हुने देवकोटाले बताए । सरकारले प्रस्ताव गरेको विधेयकमा पाँचवटा विषयमा सुधार आवश्यक रहेको उनको भनाइ थियो ।
प्रस्तावित विधेयकमा सुधार गर्नुपर्ने पाँच विषय
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको विधेयकमा यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिविरुद्ध वा उनीहरूबीच हुने असहमतिपूर्ण यौन सम्बन्धलाई बलात्कार मान्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
यसमा संयुक्त राष्ट्रसंघको नमुना बलात्कार कानुन (यूएन मोडेल रेप ल) अनुसार लिङ्ग वा लैंगिक पहिचानका आधारमा भेदभाव नगरी सबै व्यक्तिलाई समान कानुनी संरक्षण दिनुपर्ने सुझाव प्रस्तुत गरिएको छ ।
त्यसैगरी, शरीरको कुनै पनि अंग वा वस्तुद्वारा योनि, गुदद्वार वा मुखमा जुनसुकै मात्रामा गरिने गैरसहमतिपूर्ण यौन प्रवेशलाई अपराध घोषित गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
दोस्रो, सहमतिको परिभाषा स्पष्ट हुनुपर्ने सुझाव दिइएको छ । सहमति स्वेच्छिक र स्वतन्त्र इच्छाबाट दिइएको स्वीकृति हुनुपर्ने तथा पीडितको मौनता, प्रतिवाद नगरेको अवस्था, विगतको यौन इतिहास, पेसा वा सम्बन्धका आधारमा सहमति अनुमान गर्न नपाइने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
तेस्रो, दफा २१९(२)(ख) मा रहेको ‘होस ठेगानमा नरहेको’ भन्ने शब्दावलीको सट्टा अचेत अवस्था, निद्रा तथा मादक पदार्थ वा लागूऔषध सेवनका कारण सहमति दिन नसक्ने अवस्थालाई स्पष्ट रूपमा समेट्नुपर्ने सुझाव दिइएको छ ।
चौथो, १८ वर्षमुनिका किशोर–किशोरीबीच दुई वर्ष वा सोभन्दा कम उमेर अन्तरमा सहमतिमा हुने यौन सम्बन्धलाई पूर्ण रूपमा अपराधको दायराबाट हटाउनुपर्ने प्रस्ताव गरिएको छ ।
दुवै किशोर–किशोरी कम्तीमा १४ वर्ष पुगेका र उमेर अन्तर दुई वर्षभन्दा बढी नभएको अवस्थामा यस्तो व्यवस्था लागू गर्नुपर्ने सुझाव छ । तर डर, धम्की, प्रलोभन, शोषण वा शक्ति तथा अधिकारको दुरुपयोग भएका घटनालाई भने यस अपवादबाट अलग राखी कडा सजायको दायरामा ल्याउनुपर्ने उल्लेख गरिएको छ ।
पाँचौँ, वैवाहिक बलात्कारलाई अन्य बलात्कारसरह समान सजायको व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ । प्रस्तावित संशोधनमा वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा तीनदेखि पाँच वर्षसम्म कैद हुने व्यवस्था छ ।
तर वैवाहिक स्थिति जे–जस्तो भए पनि वैवाहिक बलात्कारलाई सामान्य बलात्कारसरह समान दण्ड–सजायको व्यवस्था गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको छ ।
त्यस्तै, बलात्कारका अपराधमा पीडितले न्याय पाउने पहुँच सुनिश्चित गर्न र कसुरदारलाई कानुनी कारबाहीबाट उम्किन नदिन हदम्यादको व्यवस्था पूर्ण रूपमा खारेज गर्नुपर्ने प्रस्तावसमेत गरिएको छ ।




















प्रतिक्रिया