Logo

समाचार

राज्यकै पहुँचबाहिर हजारौं बालबालिका, वास्तविक अवस्था पहिचान गर्न पहल



बाबुआमाको संरक्षणमा नरहेका बालबालिकाको वास्तविक अवस्था पहिचान गर्न सके उनीहरूको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने सरोकारवालाहरूले बताएका छन्। बाल स्याहार केन्द्रमा रहेका बालबालिकाको तथ्यांक उपलब्ध भए पनि त्यसभन्दा बाहिर रहेका हजारौं बालबालिका अझै राज्यको जानकारीमा नरहेकाले उनीहरूको वास्तविक अवस्था पत्ता लगाउन आवश्यक रहेको उनीहरूको भनाइ छ।

राष्ट्रिय तथ्यांक कार्यालय र युनिसेफले बुधबार ललितपुरमा आयोजना गरेको बालबालिका तथा वैकल्पिक हेरचाहसम्बन्धी क्रियाकलापको अन्तर्राष्ट्रिय वर्गीकरण विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो बताएका हुन्।

कार्यक्रममा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले हरेक बालबालिकाले जहाँ रहे पनि बालमैत्री वातावरणमा हुर्कन पाउनुपर्ने बताइन्। ‘सुरक्षित र पारिवारिक वातावरणमा हुर्कन पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो। यसको संरक्षण गर्नु केवल मानवीय संवेदना मात्र होइन,’ मन्त्री वादीले भनिन्, ‘यो न्यायपूर्ण, समानतामूलक र समृद्ध समाज निर्माणको अनिवार्य आधारशिला हो।’

राष्ट्रिय योजना आयोगकी सदस्य डा. रेशु अर्याल ढुंगानाले अभिभावकको संरक्षणमा नरहेका बालबालिकाको तथ्यांक केन्द्रीय स्तरमा मात्र नभई प्रत्येक स्थानीय तहमा संकलन गर्नुपर्ने बताइन्। नेपालले बालबालिकासम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय अभिसन्धिमा हस्ताक्षर गरिसकेकाले ती अभिसन्धिका आधारमा बालबालिकाको तथ्यांक संकलन र वर्गीकरण गर्नुपर्ने उनको भनाइ थियो।

‘हामीले बालबालिकाको तथ्यांकमा मात्र होइन, उनीहरूको सुरक्षामा समेत ध्यान दिनुपर्ने हुन्छ,’ उनले भनिन्, ‘वैकल्पिक हेरचाहमा रहेका बालबालिकाको विस्तृत तथ्यांक संकलन र वर्गीकरण महत्वपूर्ण छ।’

राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक पृथ्वीविजय सिजापतीले वैकल्पिक हेरचाह र यसका अन्तर्राष्ट्रिय अभ्यासबारे कार्यपत्र प्रस्तुत गरेका थिए। उनका अनुसार वैकल्पिक हेरचाहका नौवटा वर्गीकरण छन्। नेपालमा यही वर्गीकरणअनुसार तथ्यांक उपलब्ध नहुँदा वैकल्पिक हेरचाहमा रहेका बालबालिकाको वास्तविक अवस्था पहिचान गर्न कठिनाइ भइरहेको छ।

‘अब हामीले वैकल्पिक हेरचाहका लागि अन्तर्राष्ट्रिय रूपमा प्रचलनमा रहेका नौवटै वर्गअनुसार तथ्यांक संकलन गरी अन्तर्राष्ट्रिय स्तरमै तुलना गर्न सकिने बनाउन लागेका छौँ,’ सिजापतीले भने।

कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी ढुण्डिराज लामिछानेले वैकल्पिक हेरचाहमा रहेका बालबालिकाको तथ्यांक संकलनले राष्ट्रिय तथ्यांक प्रणालीमा महत्वपूर्ण उपलब्धि हासिल हुने बताए। राष्ट्रिय जनगणनाले करिब साढे ३ लाख बालबालिका वैकल्पिक हेरचाहमा रहेको देखाए पनि उनीहरूको वास्तविक अवस्थाबारे स्पष्ट जानकारी नभएकाले तथ्यांकलाई नयाँ ढंगले कोडिङ गर्न लागिएको उनले बताए।

युनिसेफ नेपालकी उपप्रतिनिधि जी ह्युन राहले प्रत्येक बालबालिकालाई तथ्यांकीय प्रणालीमा समेट्दै उनीहरूको अवस्था पहिचान गर्ने राष्ट्रिय तथ्यांक प्रणाली निर्माणमा नेतृत्वदायी भूमिका खेलेको भन्दै राष्ट्रिय तथ्यांक कार्यालयलाई धन्यवाद दिइन्। उनले वैकल्पिक हेरचाहसम्बन्धी अन्तर्राष्ट्रिय वर्गीकरण प्रणालीलाई चरणबद्ध रूपमा राष्ट्रिय तथ्यांक तथा प्रशासनिक सूचना प्रणालीमा समावेश गर्ने महत्वपूर्ण प्रक्रिया सुरु भएको बताइन्।

गत मार्चमा संयुक्त राष्ट्रसंघीय तथ्यांक आयोगले बालबालिकाको वैकल्पिक हेरचाह (आइकेयर) लाई अन्तर्राष्ट्रिय तथ्यांकीय मापदण्डका रूपमा अनुमोदन गरेको थियो। यससँगै नेपालसहित विश्वका विभिन्न देशले अभिभावकीय हेरचाहबाट बाहिर रहेका वा वैकल्पिक हेरचाहमा रहेका बालबालिकासम्बन्धी अवधारणा, परिभाषा र वर्गीकरणका लागि साझा अन्तर्राष्ट्रिय आधार प्राप्त गरेका छन्।

कार्यक्रमको समापन गर्दै प्रमुख तथ्यांक अधिकारी (सचिव) लक्ष्मी बस्नेतले वैकल्पिक हेरचाहको तुलनात्मक तथ्यांकीय प्रणाली विकास भएपछि कुन क्षेत्रका बालबालिकालाई बढी हेरचाह आवश्यक छ भन्ने पहिचान गर्न सहज हुने बताइन्। बालबालिकाको हेरचाहको मुख्य जिम्मेवारी महिला मन्त्रालयको भए पनि त्यससम्बन्धी तथ्यांक अद्यावधिक गर्ने काम राष्ट्रिय तथ्यांक कार्यालयले गरिरहेको उनले स्पष्ट पारिन्।

कार्यक्रममा सहभागीहरूले उठाएका प्रश्नको जवाफ प्रमुख तथ्यांक अधिकारी बस्नेत, उपप्रमुख तथ्यांक अधिकारी लामिछाने र युनिसेफका रामप्रसाद गौतमले दिएका थिए।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार १६:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।