काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा कारण देखाउ आदेश जारी भएको छ।
न्यायाधीश डा. रत्नबहादुर बागचन्दको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै निवेदकको मागबमोजिम आदेश जारी हुन नपर्ने आधार र कारणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो।
अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्षबीच छलफल गर्न सर्वोच्चले आगामी १४ गतेका लागि पेसी तोकेको छ।
नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा विधि र प्रक्रियाविपरीत आनीलाई नियुक्त गरिएको दाबीसहित ‘राष्ट्रिय जेनजी नागरिक अभियान’ले रिट दायर गरेको थियो।
अभियानका तर्फबाट संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले संयुक्त रूपमा रिट निवेदन दर्ता गराएका हुन्।




















प्रतिक्रिया