भक्तपुर । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासी परिवारलाई दुई दिनभित्र ठाउँ खाली गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ।
प्रशासनले सूचना जारी गर्दै कृषि विकास बैंकको तालिम केन्द्रमा सञ्चालनमा रहेको होल्डिङ सेन्टर मंसिर ११ गते दिउँसो २ बजेसम्म खाली गर्न भनेको हो।
भूमि समस्या समाधान समितिको बुधबारकै पत्रका आधारमा होल्डिङ सेन्टर खाली गराउन लागिएको प्रशासनले जनाएको छ। काठमाडौं उपत्यकाका नदी किनारमा रहेका बस्ती हटाइएपछि विस्थापित सुकुमबासी परिवारलाई अस्थायी रूपमा उक्त स्थानमा राखिएको थियो।
प्रशासनका अनुसार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र सम्बन्धित स्थानीय तहबाट प्राप्त विवरणमा सात परिवारका घरमूली वा परिवारका सदस्यको नाममा जग्गा रहेको पाइएको छ। त्यसैले उनीहरू भूमिहीनको सूचीमा नपर्ने भएका छन्।
यस्तै, जग्गा नभेटिएका १२ परिवारका हकमा सम्बन्धित स्थानीय तहबाट जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको र त्यसका लागि निस्सासमेत प्राप्त भइसकेको सूचनामा उल्लेख छ।
प्रशासनले जग्गा नभएका परिवारलाई आफ्नो निस्सा बुझ्न तथा सरकारले घरभाडाका लागि उपलब्ध गराउने व्यवस्था गरेको सुविधा लिन आग्रह गरेको छ।




















प्रतिक्रिया