Logo

राजनीति

शशांकको जवाफ– कारबाही गरे हामी आफ्नै बाटो लाग्छौँ



नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले गठन गरेको १५औँ महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले सभापति गगन थापाले कारबाही गरे आफूहरू आफ्नै बाटोमा अघि बढ्ने बताएका छन्।

सभापति थापाले मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा देउवा पक्षका नेताहरूलाई लक्षित गर्दै अर्को पार्टीको महाधिवेशन प्रक्रियामा सहभागी हुने भए प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहमा रहेका निर्वाचित पदबाट राजीनामा दिन चेतावनी दिएका थिए। अन्यथा उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाउने उनको भनाइ थियो।

यसै विषयमा बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित बैठकमा सहभागी हुन पुगेका कोइरालालाई सञ्चारकर्मीहरूले प्रश्न गरेका थिए।

जवाफमा उनले प्रतिप्रश्न गर्दै भने, ‘कसले कारबाही गर्ने? उहाँहरूले कारबाही गर्नुहुन्छ भने हामी के भन्न सक्छौँ यसमा? हामी आफ्नो बाटो जान्छौँ।’

देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ।

यसैबीच निर्वाचन आयोगले असोज १८ देखि २३ गतेसम्म सम्पन्न नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापाको नेतृत्वमा चयन भएको कार्यसमिति र विधान अद्यावधिक गर्ने निर्णय गरिसकेको छ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार १७:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।