Logo

समाचार

सुकुम्बासी होल्डिङ सेन्टर व्यवस्थापनका लागि कांग्रेसले बनायो समिति



नेपाली कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। कांग्रेसले उक्त निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारको सुरक्षित तथा सम्मानजनक पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति गगन थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो।

बैठकको निर्णयमा सरकारले सुकुम्बासीका घर भत्काएर व्यवस्थापन तथा लालपुर्जाको आश्वासन दिए पनि महिनौँसम्म उनीहरूलाई अनिश्चिततामा राखेको उल्लेख छ।

अस्थायी रूपमा बसोबास गर्दै आएका परिवारलाई होल्डिङ सेन्टरबाट समेत हटाउन खोज्नु संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको कांग्रेसको ठहर छ।

राज्य नागरिकको अभिभावक भएकाले घरबारविहीन नागरिकलाई आश्रय दिनुपर्नेमा उनीहरूको बाँकी रहेको आश्रयसमेत खोस्न नहुने कांग्रेसले जनाएको छ।

भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दमन र विस्थापनबाट नभई न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधानमार्फत सम्बोधन गर्नुपर्ने कांग्रेसको भनाइ छ।

यसैबीच, होल्डिङ सेन्टरको समन्वय तथा सहजीकरणका लागि कांग्रेसले केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहेका छन्।

त्यस्तै, कांग्रेसले उखुको मूल्य तत्काल निर्धारण गर्न र किसानले पाउन बाँकी बक्यौता रकम अविलम्ब भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

उखुको मूल्य निर्धारणमा सरकारले देखाएको उदासीनतालाई गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै कांग्रेसले बजारमा उखु पठाउने समय नजिकिँदै गर्दा किसानमा देखिएको चिन्ता तत्काल सम्बोधन गर्न माग गरेको छ।

उखुको मूल्य निर्धारण गर्दा उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार बनाउनुपर्ने कांग्रेसको धारणा छ। साथै, उखु किसानले पाउन बाँकी रहेको भुक्तानीसमेत तत्काल उपलब्ध गराउन बैठकले माग गरेको छ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार १३:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।