काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाइएको प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेका अर्याललाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको थियो। शुक्रबार म्याद थपको प्रक्रिया अघि बढाउन उनलाई सरकारी वकिल कार्यालय पुर्याइएको हो। त्यसपछि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी छ।
अर्याल तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवरको कार्यकालमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव थिए। मलेसिया जाने श्रमिकबाट संकलित रकम विदेश पठाउने निर्णय हुँदा उनी मन्त्रालयको सचिव रहेको प्रहरीको भनाइ छ। उनी २०८२ मंसिर ९ गते मुख्यसचिवबाट अनिवार्य अवकाशमा गएका थिए।
के हो श्रमिक ठगी प्रकरण ?
मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा निर्धारित शुल्कबाहेक थप रकम असुल गरी विदेश पठाइएको घटनालाई प्रहरीले ठगी प्रकरणका रूपमा अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार स्वास्थ्य परीक्षणका क्रममा प्रतिश्रमिक थप १०० मलेसियन रिंगिट ‘बायोमेडिकल सर्भिस चार्ज’ का नाममा उठाइएको थियो। यसका लागि म्याक्रो टेक प्रालि प्रयोग गरिएको र सात लाखभन्दा बढी श्रमिकबाट रकम संकलन भएको प्रहरीको दाबी छ।
अनुसन्धानअनुसार श्रमिकबाट उठाइएको रकममध्ये एक अर्ब ६९ करोड रुपैयाँभन्दा बढी विभिन्न चरणमा विदेश पठाइएको थियो। उक्त रकम १७ पटक गरी मलेसिया पठाइएको प्रहरीको भनाइ छ।
नेपाल र मलेसियाबीचको समझदारीअनुसार स्वास्थ्य परीक्षणको खर्च रोजगारदाताले बेहोर्ने व्यवस्था थियो। श्रमिक आफैँले खर्च गरेको अवस्थामा पहिलो महिनाको तलबसँगै रकम फिर्ता पाउने प्रावधानसमेत थियो। तर निर्धारित शुल्कभन्दा अतिरिक्त रकम असुलिएको प्रहरीको आरोप छ।
पूर्वमन्त्रीदेखि उच्च अधिकारीसम्म पक्राउ
यस प्रकरणमा प्रहरीले मुख्य आरोपी कैलाश खड्कासहित विभिन्न चरणमा पूर्वमन्त्री, मन्त्रालयका सचिव तथा अन्य कर्मचारीलाई पक्राउ गरिसकेको छ।
असोज २९ गते कैलाश खड्का, रविन्द्र केसी, प्रविण तिवारी र रामपुकार तिवारी पक्राउ परेका थिए। त्यसपछि मंसिर २ गते तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित छ जना पक्राउ परेका थिए।
पक्राउ पर्ने अन्यमा तत्कालीन श्रमसचिव विनोद केसी, उमेश ढुंगाना, राजीव पोखरेल र कानुन अधिकृत निर्मला गुरुङ छन्।
मंसिर १० गते पूर्वमुख्यसचिव अर्याल पनि पक्राउ परेका हुन्। उनीहरूमाथि श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली तथा विदेश पठाउने प्रक्रियामा संलग्न रहेको आरोप छ।
प्रहरीले ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि लागेको आरोप पुष्टि हुन भने बाँकी छ।




















प्रतिक्रिया