Logo

कर्पोरेट फोकस

बैंकमा थुप्रियो तरलता, औसत सीडी रेसियो ७० प्रतिशतमा झर्‍यो



काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिँदै जाँदा वाणिज्य बैंकहरूको कर्जा प्रवाह सुस्त देखिएको छ । निक्षेपको तुलनामा कर्जा लगानी बढ्न नसक्दा सञ्चालनमा रहेका २० वाणिज्य बैंकको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) एक वर्षमै ३.४० प्रतिशत बिन्दुले घटेर ७०.३६ प्रतिशतमा झरेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिक मसान्तसम्म बैंकहरूको औसत सीडी रेसियो ७०.३६ प्रतिशत कायम भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुपात ७३.७६ प्रतिशत थियो ।

सीडी रेसियोले बैंकहरूले संकलन गरेको निक्षेपको तुलनामा कति रकम कर्जाका रूपमा परिचालन गरेका छन् भन्ने देखाउँछ । अर्थात्, बैंकमा १०० रुपैयाँ निक्षेप हुँदा त्यसको तुलनामा कति रकम कर्जामा लगानी भएको छ भन्ने मापन गर्ने सूचक हो ।

नियामकीय व्यवस्थाअनुसार सीडी रेसियो गणना गर्दा सामान्य निक्षेपबाहेक निश्चित प्रकारका ऋणपत्र, एक वर्ष वा सोभन्दा बढी अवधिको विदेशी मुद्रा ऋण तथा नेपाल राष्ट्र बैंकबाट प्राप्त पुनर्कर्जालाई समेत निक्षेपका रूपमा समायोजन गर्न सकिन्छ । अन्तरबैंक निक्षेप भने यसमा समावेश हुँदैन । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि सीडी रेसियोको अधिकतम सीमा ९० प्रतिशत तोकेको छ ।

बैंकगत तथ्यांकअनुसार कात्तिक मसान्तसम्म सबैभन्दा उच्च सीडी रेसियो प्राइम बैंकको देखिएको छ । बैंकको यस्तो अनुपात ८६.९४ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ४.३१ प्रतिशत बिन्दुले बढी हो ।

त्यस्तै, एनएमबी बैंकको सीडी रेसियो ८३.१३ प्रतिशत र नबिल बैंकको ८०.६१ प्रतिशत कायम भएको छ । सानिमा बैंकको ७९.०७ प्रतिशत, माछापुच्छ्रे बैंकको ७८.१२ प्रतिशत र एभरेस्ट बैंकको ७६.४२ प्रतिशत रहेको छ ।

यता, सबैभन्दा कम सीडी रेसियो स्ट्यान्डर्ड चार्टर्ड बैंकको रहेको छ । बैंकको यस्तो अनुपात ४६.०५ प्रतिशतमा सीमित भएको छ । गत वर्षको कात्तिकमा ६०.६३ प्रतिशत रहेको बैंकको सीडी रेसियो एक वर्षमा १४.५८ प्रतिशत बिन्दुले घटेको हो ।

राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो पनि ६०.१४ प्रतिशतबाट घटेर ४८.६६ प्रतिशतमा झरेको छ । त्यस्तै, नेपाल बैंकको ६१.६५ प्रतिशत, एनआईसी एसिया बैंकको ६१.१० प्रतिशत र प्रभु बैंकको ६४.२६ प्रतिशत कायम भएको छ ।

एक वर्षको अवधिमा पाँच वाणिज्य बैंकको सीडी रेसियो बढेको छ भने १५ बैंकको घटेको छ । समग्रमा बैंकिङ प्रणालीमा निक्षेपको तुलनामा कर्जा विस्तार कमजोर हुँदा तरलता बढेको र बैंकहरूको कर्जा परिचालन क्षमता अपेक्षाकृत उपयोग हुन नसकेको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार १६:२५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।