काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले दक्षिण एसियाली लेखापाल महासंघ (साफा) को वार्षिक प्रतिवेदन पुरस्कारअन्तर्गत ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको छ ।
बंगलादेशको ढाकामा शनिबार आयोजित कार्यक्रममा कम्पनीले जनरल इन्स्योरेन्स विधातर्फ उक्त सम्मान प्राप्त गरेको हो । यससँगै शिखर इन्स्योरेन्स लगातार दोस्रो वर्ष साफाबाट सम्मानित भएको छ । यस वर्ष उक्त सम्मान प्राप्त गर्ने शिखर एक मात्र निर्जीवन बीमा कम्पनी बनेको छ ।
यसअघि गत वर्ष पनि शिखर इन्स्योरेन्सले यो सम्मान प्राप्त गरेको थियो । नेपालबाट यस्तो अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्ने पहिलो बीमा कम्पनीसमेत बनेको थियो ।
साफाको पारदर्शिता, जवाफदेहिता तथा सुशासन प्रवर्द्धनसम्बन्धी समितिले आयोजना गर्ने उक्त पुरस्कारमा कम्पनीहरूको वार्षिक प्रतिवेदन, वित्तीय विवरणको गुणस्तर, सूचनाको पारदर्शिता, संस्थागत सुशासन तथा सेयरधनी र सर्वसाधारणलाई उपलब्ध गराइएको जानकारीको मूल्यांकन गरिन्छ ।
कम्पनीका अनुसार लगातार दोस्रो वर्ष प्राप्त सम्मानले वित्तीय पारदर्शिता, संस्थागत सुशासन र उत्तरदायी व्यावसायिक अभ्यासप्रतिको प्रतिबद्धता पुष्टि गरेको छ ।
२२ वर्षदेखि बीमा सेवा प्रदान गर्दै आएको शिखर इन्स्योरेन्सले आईसीआरए नेपालबाट ‘एए माइनस’ रेटिङ प्राप्त गरेको छ । कम्पनीको सूचना सुरक्षा व्यवस्थापन प्रणालीले आईएसओ २७००१ प्रमाणीकरणसमेत पाएको छ ।
कम्पनीले नेपालको निर्जीवन बीमा बजारमा सबैभन्दा बढी बजार हिस्सा रहेको दाबी गरेको छ । स्थापना भएदेखि हालसम्म दुई लाखभन्दा बढी दाबीबापत ३० अर्ब रुपैयाँभन्दा बढी बीमा दाबी भुक्तानी गरिसकेको जनाएको छ ।
त्यस्तै, प्राकृतिक विपत्ति तथा ठूला जोखिमबाट हुन सक्ने क्षति व्यवस्थापनका लागि कम्पनीले अन्तर्राष्ट्रिय ‘ए’ रेटेड पुनर्बीमा कम्पनीहरूमार्फत निर्जीवन बीमा क्षेत्रमा सबैभन्दा उच्च विपत्ति पुनर्बीमा सुरक्षा व्यवस्था गरेको जनाएको छ ।




















प्रतिक्रिया