काठमाडौं । एभरेष्ट कलर लिमिटेडले पुस १३ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको मंसिर ११ गते बसेको ११औँ सञ्चालक समिति बैठकले भक्तपुरको मध्यपुर थिमी–३ स्थित वाइट प्यालेस ब्याङ्क्वेटमा दिउँसो १२ः३० बजे सभा गर्ने निर्णय गरेको हो।
सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। त्यस्तै, सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितको लेखापरीक्षण प्रतिवेदन स्वीकृतिका लागि पेस हुनेछ।
सभाले सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्नेछ। साथै प्रबन्ध सञ्चालकको पारिश्रमिक तथा भत्ता स्वीकृत गर्ने, सञ्चालक बैठक भत्ता निर्धारण गर्ने र आर्थिक वर्ष २०८२/८३ मा सञ्चालक समितिबाट भएका निर्णय तथा कामकारबाही अनुमोदन गर्ने प्रस्ताव पनि कार्यसूचीमा छन्।
यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभामा पेस हुनेछ। कम्पनी ऐन, २०६३ को दफा १०५ (ग) मा तोकिएको सीमाभन्दा बढी भएको खर्चलाई पूर्वस्वीकृति प्रदान गर्ने विशेष प्रस्तावसमेत सभामा लैजाने कम्पनीले जनाएको छ।
कम्पनीले यस वर्ष सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २९ गते एक दिन सेयर दाखिला खारेज किताब बन्द गर्ने भएको छ। यसअनुसार मंसिर २८ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागी हुन र सञ्चालक पदका लागि उम्मेदवारी दिन सक्नेछन्।




















प्रतिक्रिया