काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड डिपोर्टिभो अलाभेससँग २–१ गोलले पराजित भएको छ। आइतबार बिहान सम्पन्न खेलमा घरेलु टोली अलाभेसले रियललाई स्तब्ध पार्दै महत्वपूर्ण तीन अंक जोडेको हो।
खेलको २२औँ मिनेटमा टोनी मार्टिनेजले गोल गर्दै अलाभेसलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले अघि रहेको अलाभेसले दोस्रो हाफमा पनि आक्रामक खेललाई निरन्तरता दियो। खेलको ६१औँ मिनेटमा एन्जेल पेरेजले गोल थपेपछि टोलीले २–० को अग्रता बनाएको थियो।
दुई गोलले पछि परेको रियल मड्रिडका लागि केलियन एम्बाप्पेले ६९औँ मिनेटमा गोल गर्दै अन्तर घटाए। त्यसपछि बराबरी गोलको खोजीमा रहेको रियललाई ८८औँ मिनेटमा थप धक्का लाग्यो। उसका मिडफिल्डर जुड बेलिङ्घमले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो।
अन्तिम समयसम्म बराबरी गोल गर्न नसकेपछि रियलले हार बेहोर्नुपर्यो। यस जितसँगै अलाभेस अंक तालिकाको आठौँ स्थानमा उक्लिएको छ भने पराजित रियल मड्रिड तेस्रो स्थानमा झरेको छ।




















प्रतिक्रिया