काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरका १५ करोड थान नयाँ सिक्का बजारमा ल्याउने तयारी गरेको छ। सिक्का उत्पादन, डिजाइन, आपूर्ति तथा ढुवानीका लागि केन्द्रीय बैंकले विदेशी कम्पनीहरूसँग बोलपत्र आह्वान गरेको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सिक्का ढलाइ (मिन्टिङ) लगायतका कामका लागि अन्तर्राष्ट्रिय सेक्युरिटी मिन्टिङ कम्पनीबाट प्रस्ताव माग गरेको हो। बोलपत्र प्रक्रियामा पूर्वयोग्यता पूरा गरी सूचीकृत भएका कम्पनीहरूले मात्र सहभागिता जनाउन पाउनेछन्।
साना दरका नोट तथा सिक्काको उपलब्धता सहज बनाउने उद्देश्यले नयाँ सिक्का बजारमा ल्याउन लागिएको राष्ट्र बैंकले जनाएको छ। बोलपत्र मूल्याङ्कन ‘सिंगल स्टेज टु एनभलप’ प्रणालीबाट गरिनेछ। यसअनुसार सहभागी कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै खाममा पेस गर्नुपर्नेछ।
योग्यता पुगेका कम्पनीले २० हजार रुपैयाँ (१३२ अमेरिकी डलर वा ११८ युरो) फिर्ता नहुने शुल्क बुझाएर डिसेम्बर २८ सम्म बोलपत्र फाराम खरिद गर्न सक्नेछन्। फाराम थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग वा बबरमहलस्थित टकमरी महाशाखाबाट उपलब्ध हुनेछ।
बोलपत्रसम्बन्धी जिज्ञासा समाधान गर्न राष्ट्र बैंकले डिसेम्बर ११ मा थापाथलीस्थित कार्यालयमा प्रि-बिड बैठकसमेत आयोजना गर्ने भएको छ।
बोलपत्र पेस गर्ने अन्तिम म्याद डिसेम्बर २९ गते दिउँसो १२ बजेसम्म तोकिएको छ। सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ।
ठेक्कामा सहभागी हुने कम्पनीले कम्तीमा १ लाख २७ हजार अमेरिकी डलर वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा अथवा नेपाली रुपैयाँमा बैंक धरौटी (बिड सेक्युरिटी) पेस गर्नुपर्नेछ। उक्त धरौटीको म्याद प्रस्ताव पेस गरेको मितिदेखि कम्तीमा १५० दिनसम्म कायम हुनुपर्नेछ।



















प्रतिक्रिया