Logo

अन्तर्राष्ट्रिय

हूती विद्रोहीले दियो साउदी अरबलाई धम्की, लाल सागरका बन्दरगाह निशानामा



काठमाडौँ । यमनका हूती विद्रोहीले साउदी अरबको जेद्दाहसहित लाल सागर तटमा रहेका अन्य बन्दरगाहलाई निशाना बनाउन सक्ने चेतावनी दिएका छन्।

हूती विद्रोहीका सैन्य प्रवक्ता याह्या सारीले यमनको रास इसा बन्दरगाहमा भएको आक्रमणको जवाफस्वरूप साउदी अरबका बन्दरगाहमाथि आक्रमण हुन सक्ने बताएका हुन्।

बीबीसी उर्दूका अनुसार साउदी नेतृत्वको गठबन्धन सेनाले रास इसा बन्दरगाह खाली गर्न आग्रह गरेपछि हूती विद्रोहीले यस्तो चेतावनी दिएका हुन्। यसले साउदी अरब र हूती विद्रोहीबीचको तनाव थप चुलिने संकेत देखिएको छ।

याह्या सारीले आइतबार सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको वक्तव्यमा साउदी अरबका बन्दरगाहमा कार्यरत कर्मचारी तथा जहाज सञ्चालन गर्ने कम्पनीहरूलाई ती क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन्।

उनले सम्बन्धित बन्दरगाहमा कार्यरत कर्मचारीलाई तत्काल कार्यस्थल खाली गरी सुरक्षित स्थानमा जान निर्देशन दिएका छन्। त्यस्तै, शिपिङ कम्पनीहरूलाई आफ्ना जहाज साउदी अरबका बन्दरगाहबाट हटाउन चेतावनी दिएका छन्।

पछिल्लो समय साउदी अरब र हूती विद्रोहीबीच आर्थिक तथा पूर्वाधारसँग सम्बन्धित संरचनालाई निशाना बनाएको आरोप–प्रत्यारोप चलिरहेको छ। रास इसा बन्दरगाहमा भएको आक्रमणपछि दुवै पक्षबीच तनाव थप बढेको देखिएको छ।

हूती विद्रोहीका प्रवक्ताले दिएको चेतावनीबारे साउदी अधिकारीहरूले भने हालसम्म कुनै औपचारिक प्रतिक्रिया जनाएका छैनन्।

प्रकाशित मिति : १३ मंसिर २०८३, आईतवार २१:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।