रुपन्देहीमा गोली चल्दा तीन प्रहरीसहित चार जना घाइते भएका छन । एक जना भारतीय नागरिक हतियारसहित पक्राउ परेका छन् ।
रुपन्देहीको सिद्धार्थनगरस्थित शंकरपुर नाकाबाट हतियारसहित नेपाल प्रवेश गरेको आशंकामा प्रहरीले पक्राउ गर्न खोज्दा गोली प्रहार भएपछि जवाफी कारबाहीमा एक जना भारतीय नागरिक पनि घाइते भएको रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।
गोली लागेर घाइते भएका ती व्यक्तिलाई भारतीयहरुले नै लिएर गएका छन ।
उनीहरुको गोली प्रहारबाट ३ जना प्रहरी पनि घाइते भएका छन । पक्राउ पर्नेमा भारत महाराजगञ्ज फरेण्डाका झिनक धोबी हुन् । उनीबाट एउटा अटोमेटिक पेस्तोल बरामद भएको प्रहरीले बताएको छ ।
भक्तपुरबाट दुई पाकिस्तानी नागरिक पक्राउ
नेपालको सबैभन्दा ठूलो नोट कस्तो हुन्छ हेर्छौं भन्दै नेपाली रकम चोरी गरी लैजाने गरेको अभियोगमा प्रहरीले दुई पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले पाकिस्तानी नागरिक ३२ वर्षीय मोहसिन खान र अर्का पाकिस्तानी नागरिक ३१ वर्षीया पूजा मोसिनलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए ।
निज दुई पाकिस्तानी नागरिकले गत वैशाख २९ गते बा १९ च ७४ नम्बरको कारमा आई सूर्यविनायक नगरपालिका–५ स्थित रामकृष्ण श्रेष्ठले सञ्चालन गरेको आरके इलेक्ट्रिक एण्ड इलोक्ट्रोनिक्स सेन्टरमा आफूहरुसँग अमेरिकी डलर रहेको र नेपालको सबभन्दा ठूलो नोट कस्तो छ हेरौँ भनी हेर्ने क्रममा नोटको बिटोबाट रु ३० हजार चोरी गरेको प्रहरीको भनाइ छ ।
त्यसैगरी सोही नागरिकले मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा सन्तकृष्ण हेक्काले सञ्चालन गरेको हेक्का किचेन स्टोरमा गई नेपाली ठूलो नोट हेर्ने बाहनामा रु ७० हजार चोरी लगेको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई काठमाडौँबाट पक्राउ गरेको जानकारी दिएको छ ।
प्रहरीमा परेको उजुरीको आधारमा गाडी नम्बरबाट खोजी गरेको र उनीहरुलाई काठमाडौँ सिनामङ्गलस्थित रुद्र भ्यू होटलबाट पक्राउ गरेको प्रनाउ केसीले जानकारी दिए ।
प्रहरीले उनीहरुको साथबाट दुई हजार ९५० अमेरिकी डलर, पाकिस्तानी मुद्रा ६३०, नेपाली रु एक लाख ३७ हजार ५०० बरामद गरेको उनले जानकारी दिए । पक्राउ परेको पाकिस्तानी नागरिकलाई प्रहरी वृत्त थिमिको हिरासतमा राखी अनुसन्धान गरी मुद्दा दायर गरिएको उनले जानकारी दिए ।




















प्रतिक्रिया