Logo

समाचार

भारतमा कोरोना संक्रमितको सङ्ख्या ९५ लाख नाघ्यो



भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या बिहीबारसम्ममा ९५ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

विगत चौबीस घण्टामा संक्रमित हुनेको संख्या ३५ हजार ५५१ रहेको छ । कूल संक्रमित ९५ लाख ३४ हजार ९६५ मध्ये सक्रिय संक्रमितको संख्या ४ लाख २२ हजार ९४३ रहेको छ । भारतमा हालसम्म ८९ लाख ७३ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । विगत २४ घण्टामा ५२६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सहित भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ३८ हजार ६४८ पुगेको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर १४ करोड ३५ लाख नमूना परीक्षण गरिएको जनाएको छ । भारतमा विगत २६ दिनदेखि ५० हजारभन्दा कम व्यक्ति संक्रमित भेटिएका छन् । पछिल्लो पटक गत नोभेम्बर ७ मा ५० हजार व्यक्ति संक्रमित भेटिएका थिए । भारतीय राज्य महाराष्ट्रमा सक्रिय संक्रमितको संख्या अझै ८८ हजार ५३७ छ । यस राज्यमा ४७ हजार ३५७ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच, विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ४८ लाख ४४ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । कोरोना संक्रमितमध्ये १४ लाख ९९ हजार ३४६ जनाको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोनाभाइरसको संक्रमणबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा हालसम्म एक करोड ४३ लाख संक्रमित भएकामध्ये २ लाख ७९ हजार ८६५ जनाको मृत्यु भइसकेको छ । तेस्रो सर्वाधिक असर परेको ब्राजिलमा ६४ लाख ३६ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका र त्यसमध्ये एक लाख ७४ हजार ५३१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार ११:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।