Logo

लुम्बिनी प्रदेश

नेकपा सचेतकको निवासमा बम विस्फोट, यस्तो छ अबस्था



नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ का सचेतक भूमेश्वर ढकालको निवासमा बम विस्फोट भएको छ । ढकालको सैनामैना नगरपालिका–७ स्थित निवासमा गएराति ३ वटा बम विस्फोट गराइएको हो । इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी भीमलाल भट्टराईले ढकालको निवासमा गएराति बम विस्फोट भएको पुष्टि गरे ।

बम ढकाल, उनका बाबुआमा सुत्ने कोठा र उनले प्रयोग गर्दै आएको लु १ ज ४५६ नम्बरको कारलाई लक्षित गरेर गराइएको प्रहरीले जनाएको छ । विस्फोटबाट कारको पछाडिको भागमा सामान्य क्षति पुगे पनि कोठामा भने क्षति भएको छैन । प्रहार गरिएको बम विस्फोट नभएकाले कोठामा क्षति नभएको बताइएको छ ।

विस्फोटको समयमा ढकालका बाबा–आमा र पत्नी घरमा सुतिरहेका थिए । सचेतक ढकाल भने घरमा थिएनन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी केही समयदेखि काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् ।

प्रमुख सचेतक ढकाल प्रदेशसभाको गाडी खरिद अनियमितता प्रकरणमा मुछिएका पात्र हुन् । बाइक चढेर आएका ३ जना बम हानेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । यद्यपि, उनीहरूको पहिचान नखुलेको प्रहरीले जनाएको छ । डीएसपी भट्टराईलेले घटनाबारे थप अनुसन्धान भइरहेको  बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार ०२:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।