झापामा सञ्चालन भएको जनताको तटबन्ध कार्यक्रम प्रभावकारी बन्दै गएको छ । विभिन्न नदीहरुमा आउने बाढीको कारण झापामा धेरै धनजनको क्षति हुन थालेपछि तत्कालीन अवस्थामा रहेको सिंचाई मन्त्रालयले जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं. १, गैडे झापाको स्थापना गरेको थियो ।
जोखिम न्युनिकरण गर्न र व्यवस्थित रुपमा नदी व्यवस्थापन गर्न कार्यक्रम प्रभावकारी बन्दै गएको कार्यालयले जनाएको छ । सुरुमा कनकाई र रतुवा मावा नदी व्यवस्थापन गर्ने उद्देश्यले स्थापना भएको यो कार्यालयको कार्य क्षेत्र विरिंग, कमल नदी हुँदै आर्थिक वर्ष २०७५-०७६ बाट मेची नदीसम्म विस्तार भएको छ ।
आव २०७५।०७६ बाट जोखिमयूक्त सदरमुकाम बचावट कार्यसमेत यस कार्यालयको कार्यक्षेत्रभित्र आएको छ । झापा जिल्लामा मुख्य रुपमा माथिल्लो भेगमा बढी कटानको समस्या देखिएको छ भने तल्लो भेगका गाँउ बस्तीहरु डुवानको समस्याबाट प्रभावित छन् ।
नदिवाट गरिने अव्यवस्थित ढुंगा, गिटि र बालुवाको उत्खन्न पनि जोखिम बढाउने प्रमुख कारण बनेको छ । विभिन्न प्रकारका जोखिम कम गर्न नदी किनारामा वृक्षारोपण गर्नुपर्ने भन्दै कार्यालयले त्यसतर्फ सचेत पनि गराएको छ ।
स्थानिय निकायहरुले वृक्षरोपण गर्ने ठाँउको पहिचान गरी नदी किनाराका बासिन्दाहरुलाई परिचालन गरी बार्षिक कार्य योजनामा समेत समावेश गरी वृक्षारोपण कार्यलाई अगाडि बढाउन सकेमा यसले सकारात्मक परिमाण दिने भन्दै कार्यालयले त्यसतर्फ पटकपटक सरोकारवालासँग छलफल र अन्तरक्रिया गर्दै आएको छ ।
जलाधार क्षेत्रमा हुने भुक्षय न्युनिकरण तथा पानीको सञ्चितिलाई बढाउन सम्बन्धित निकायहरुले प्राथमिकता साथ समग्र जलाधार व्यवस्थापन कार्यक्रमको लागु गर्न आवश्यक भएको निश्कर्ष निकालिएको छ । आर्थिक वर्ष २०७५।७६ देखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत स्थानिय तहमा बजेट विनियोजन भई नदी नियन्त्रण भइरहेको छ ।
जनताको तटबन्ध कार्यक्रमले स्थानीय तहसँग हातेमालो गर्दै आएको छ । नदी नियन्त्रण कार्य सञ्चालन गर्दा स्थानीय तहबाट यस कार्यालयँंग समन्वय गरी उपयुक्त प्रविधि र विज्ञताको सहयोग लिन उपयुक्त देखिएको भन्दै कार्यालयले सबैसँग सहयोग र समन्वयको अपेक्षा गरेको छ ।
कार्यालयको तथ्यांकले आर्थिक वर्ष २०७४-०७५ मा रतुवा मावा नदीमा २० किमी., कमल नदीमा ५.५ किमी., कन्काई नदीमा १५ं.९ किमी, विरिङ्ग नदीमा १५.५ किमी., मेची नदीमा ३.५ किमी गरी कुल जम्मा ६०.४ किमी तटवन्ध निर्माण भइसकेको देखाएको छ । त्यस्तै आर्थिक वर्ष २०७५-०७६ रतुवा—मावा नदीमा ७ किमी, कमल नदीमा २.२ किमी, कन्काई नदीमा २ं.९ किमी, विरिङ्ग नदीमा २.७ किमी, मेची नदीमा ०.८ किमी, जोखिमयूक्त सदरमुकाम वचावट कार्यक्रम अन्तर्गत १.७ किमी गरी कुल जम्मा १७.३ किमी तटवन्ध निर्माण गरिएको छ ।

परम्परागत रुपमा अपनाउदै आइरहेको नदी नियन्त्रण प्रविधि मंहगो हुने भएको र ढुंगाको उपलब्धता समेत समस्याको रुपमा रहेकोले परम्परागत प्रविधिलाई क्रमशः विस्तापित गर्दै बैकल्पिक नदी नियन्त्रण प्रविधि अपनाउन आवश्यक देखिएको विज्ञको सुझाव छ । यसैलाई मध्यनजर गरी चालु आर्थिक वर्षदेखि नै जलश्रोत तथा सिंचाई विभागले Bamboo तथा RCC Porcupine, टेटहाइड्रल, क्रिस्मर सिस्टम आदी प्रयोग गर्ने गरी ‘नयाँ प्रविधिमा आधारित नदी नियन्त्रण आयोजना’ स्थापना गरी कार्यको थालनी गरेको छ ।
यस कार्यालयले पनि आर्थिक वर्ष २०७५-७६ मा केही जोखिमयुक्त क्षेत्रहरुमा उच्च प्रविधि अपनाई जोखिम न्यूनीकरण गर्ने प्रयास गरेको छ । कार्यालयले रतुवा मावा नदिमा तारावारी, विरेन्द्रडाँगी, छिन्ताङ्गे टोल, राजावासालगायतका स्थानहरुमा तटबन्ध गरेको छ । त्यसैगरी कमल नदीको बोहरा टोल, सुकुम्वासी टोल, सुनारा, सरङपाडा, पाँचगाछी लगायतका स्थानहरुमा तटबन्ध निर्माण गरिएको छ ।
कन्काइ नदीको चिल्लागढ, गोल ग्राउण्ड, हात्तिसार, रंगियाथान, कुवाडि लगायतका स्थानमा पनि तटबन्ध गरिएको छ । विरिङ्ग नदीको खुदुनाबारी, पानिकल, गोलुवारी, शरणामती, मोटापानी लगायतका स्थानहरुमा तटवन्ध निर्माण गरिएको छ । मेची नदीको पाठामारी, बाहुनडाँगी लगायतका स्थानहरुमा तटवन्ध निर्माण भएको छ ।
सदरमुकाम बचावट कार्यक्रम अन्तर्गत गैरीगाँउ, भाङवारी, भैसावाडी,शान्तिटोल लगायतका स्थानहरुमा तटवन्ध निर्माण भएको छ । तटवन्ध गरेपछि सो क्षेत्रमा नदी किनारामा वस्ने सयौं घरधुरी प्रतक्ष रुपमा लाभान्वित भएका छन् । यतिमात्र होइन नदी किनाराको जमिन कटान तथा डुवानको समस्या पनि केही हदसम्म न्यूनीकरण भएको छ ।
बर्षातको समय बाढीबाट तत्काल सिर्जना हुन सक्ने सम्भावित खतरासँग जुध्नको लागि विपत प्रतिकार्य योजना अन्तर्गत खाली सिमेन्टको वोरा ९० हजार थान जि.आई.तारजाली ३ सय थान व्यवस्थापन गरिएको छ । यस वर्ष असार महिनामा आएको वाढीवाट रतुवा मावा नदीले किरात टोल, महाराजास्थान, छिन्ताङ्गेटोल, मंगलवारे, सिजुवा, चौकिघाट, मिर्चाडाँगी, चप्रामारी, तेलियाडाँगी लगायतका गाँउहरुमा क्षति पुर्याएको छ ।
त्यसैगरी कमल नदीले सानो केर्खा, सिसा बाँध, सुकुम्वासी टोल, भालु गाँउ, सरङपाडा,पाँचगाछी, भोर्लीचौन लगायतका गाँउहरुमा क्षीत पुर्याएको छ । कन्काइ नदीले भने आँपटारी,शिवगंज, विसुडुव्वा, भेलामुनी, होक्लावारी लगायतका गाउँहरुमा क्षति पुर्याएको अवस्था छ । विरिगंनदीले साधुटार, नेवार गाँउ, चौधरी गाँउ, पन्तपाडा लगायतका गाँउहरुमा क्षती क्षती पुर्याएको छ । त्यसैगरी मेची नदीले ज्यामिरगढी, किसान कामत, भैसावारी लगायतका गाँउहरुमा क्षति पुर्याएको छ ।
क्षति न्यूनिकरणका लागि कार्यालयबाट केही स्थानहरुमा आपतकालीन नदी नियन्त्रण सम्वन्धि कार्य शुरु गरिसकिएको छ भने वाँकी स्थानहरुमा पनि गर्ने तयारी छ । यस आर्थिक वर्षका लागि दीर्घकालीन नदी नियन्त्रण योजना अन्तर्गत रतुवामावा रु.३.८९ अर्व, कमलमा १.७७ अर्व, कन्काइमा ३.९ अर्व, विरिङमा २.४६ अर्व र मेचीमा ५.५७ अर्व गरी कुल १७ अरव ५९ करोड बरावरको डिपिआर यस कार्यालयबाट तयार गरी जलश्रोत तथा सिँचाइ विभागबाट २०७६ असार १८ गते स्वीकृत भएको छ । स्वीकृत भएबमोजिम बहुवर्षिय कार्यक्रमको खरिद गुरु योजना स्वीकृतिका लागि जलश्रोत तथासिंचाइ विभागमा पेश गरिएको कार्यालयको भनाई छ । खरिद गुरु योजना स्वीकृतिपश्चात यस आर्थिक वर्षमा बहुवर्षिय ठेक्का प्रक्रिया अगाडि वढ्ने छ ।




















प्रतिक्रिया