Logo

अर्थ

विदेशबाट मजदुरले रेमिट्यान्स पठाउन नै वार्षिक ३८ अर्ब कमिसन



विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स पठाउन मात्रै नेपाली कामदारले वर्षको ३८ अर्ब रुपैयाँसम्म खर्चिने गरेका छन् । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको नेपालमा विप्रेषण आप्रवाहको स्थितिसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रतिवेदनअनुसार विदेशबाट २ सय अमेरिकी डलर अर्थात् २२ हजार ८ सय रुपैयाँसम्म पठाउँदा औसतमा नेपाली कामदारहरूले ४.३ प्रतिशत कमिसन दिनुपर्छ । त्यस्तै, ५ सय अमेरिकी डलर अर्थात् ५७ हजारसम्म पठाउँदा विदेशमा रहेका नेपालीले २ दशमलव ९ प्रतिशतसम्म कमिसन तिरिरहेका छन् । राष्ट्र बैंकले विश्व बैंकको प्रतिवेदनलाई आधार मानेर यस्तो प्रतिवेदन बनाएको हो । यस आधारमा हेर्दा गत आर्थिक वर्षमा ८ खर्ब ७९ अर्ब रकम रेमिट्यान्स पठाउँदा वैदेशिक मुलुकमा काम गरिरहेका नेपालीले ३७ अर्ब ८० करोड रुपैयाँसम्म कमिसनबापत खर्च गरिरहेका छन् ।

विदेशबाट रकम पठाउँदा लाग्ने महँगो कमिसनकै कारण हुन्डीजस्ता अनौपचारिक माध्यमबाट कामदारले नेपालमा रकम पठाउने गर्छन् । ‘२ सय डलर वा सोभन्दा कम रकम रेमिट्यान्स पठाउँदा लाग्ने शुल्कमा कमी ल्याउन सके विप्रेषण आप्रवाहलाई औपचारिक माध्यमतर्फ आकर्षित गर्न थप योग्दान पुग्ने देखिन्छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
तर, रेमिट्यान्स कम्पनीहरू भने यो तथ्यांक सही नभएको जिकिर गर्छन् । ‘हामीले कतार, दुबईलगायतका मुलुकबाट औसतमा २ प्रतिशतमा रकम ल्याइरहेका छौँ,’ नेपाल विप्रेषक संघका अध्यक्ष तथा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले भने, ‘यो तथ्यांकलाई हामीले चुनौती दिन त सक्दैनौँ, तर यो तथ्यांकमा केही त्रुटि भने भएको हुन सक्छ ।’

मुलुकमा कति रेमिट्यान्स अनौपचारिक माध्यमको प्रयोग भएर भित्रिन्छ, यकिन तथ्यांक छैन । यद्यपि, राष्ट्र बैंकले केही वर्षअघि १६ जिल्लाका ३ सय २० घरधुरीमा गरेकोे नमुना सर्वेक्षणले अनौपचारिक वा हुन्डीका माध्यमबाट ७ प्रतिशत रेमिट्यान्स पठाउने गरेको भेटेको थियो । त्यस्तै, २.२ प्रतिशतले भने औपचारिक र अनौपचारिक दुवै माध्यम प्रयोग गर्ने गरेको भेटिएको थियो ।

विश्व बैंकको तथ्यांककै आधारमा प्रतिवेदन तयार गरेको राष्ट्र बैंकले यी तथ्यांकको स्वामित्व भने लिन चाहेको देखिँदैन । ‘विश्व बैंकले सार्वजनिक गरेको तथ्यांक हो यो, लागतको विषयमा भने हाम्रो अलग्गै अध्ययन होइन,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले भने । राष्ट्र बैंकले भारतबाट अनौपचारिक माध्यमबाट आउने रेमिट्यान्सको भने आकलन गरेको छ । प्रतिवेदनअनुसार भारतबाट ३८ अर्ब रेमिट्यान्स अनौपचारिक माध्यमबाट आउँछ । नयाँ पत्रिकाबाट

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार ०९:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।