यो नियम रामेछापको मन्थली नगरपालिका–६ सिम्पानी गाउँको हो । २९ घरधुरी रहेको गाउँमा खानेपानीको चरम अभाव भएपछि गाउँलेले नै यस्तो नियम बनाएका हुन् । गाउँको तीनधारा पँधेरामा ट्यांकी निर्माण गरिएको छ । रातभर र दिनभर धारामा ताल्चा मारेर पानी जम्मा गरिन्छ ।
बिहान ४ देखि ६ बजेसम्म दुई घन्टा मात्रै ताल्चा खोलेर पानी थापिन्छ । प्रत्येक घरले एक गाग्रीका दरले पानी थाप्दा पालो नआउनेले भोलिपल्टसम्म कुर्नुपर्छ । स्थानीय चेतबहादुर श्रेष्ठका अनुसार यो अहिलेको होइन, १४ वर्षदेखिको नियति हो । कुनै घरमा विवाह हुँदा वा मृत्यु हुँदा मात्रै थप दुई घन्टा धारो खोलिन्छ ।
कसैले रातभर पानी भरेर रित्याउने, कसैले एक थोपो पनि नपाउने अवस्था आएपछि सहमतिमै ताल्चा ठोक्ने नियम राखिएको स्थानीय दुर्गा श्रेष्ठले बताइन् । तर, एक गाग्री पानीले कुनै घरको पनि गुजारा चल्दैन । एक परिवारलाई दैनिक १०–१५ गाग्री चाहिन्छ । त्यसैले थप पानी लिन दुई घन्टा हिँडेर तल कमेरे खोलामा पुग्छन् गाउँले । तर, खोलाको पानी धमिलो र सानो छ । दुई–तीन घन्टासम्म पालो कुरेर ल्याउनुपर्छ । पैसा हुनेहरू भने ट्याक्टरमा बोकाएर ल्याएको पानी किनेर गुजारा चलाउँछन् ।
पानीको हाहाकार भएपछि सिम्पानीका धेरैले घरका बस्तुभाउ पनि बेचेका छन् । कतिपयले एक–एक गोरु पालेर जोत्ने वेला हल मिलाउने गरेका छन् । पानीकै दुःखले धेरै घर यहाँबाट बसाइँ सरिसकेको चेतबहादुरले सुनाए ।
उदयपुरको चौदण्डीगढी नगरपालिकामा पानीको संकटले बुहारी भित्र्याउनै गाह्रो, दुःख हुन्छ+ भनेर छोरी दिन मान्दैनन्
उदयपुरको महाभारत शृंखलामा पर्ने पहाडी बस्तीहरूमा पानीको यति धेरै हाहाकार छ कि यहाँको समस्या थाहा पाएकाहरूले छोरी दिनै मान्दैनन् । पानीको समस्याकै कारण गढी, भञ्ज्याङ, कटहरे, सुन्तले क्षेत्रमा बुहारी भित्र्याउनै समस्या परेको टंक तामाङले सुनाए । ‘पानी लिन राति ३ बजे नै उठेर देवीथान वा कालापानी कुवामा पुग्नुपर्छ ।
बिहानभर पालोमा बसेर ल्याउनुपर्छ,’ टंकले भने, ‘दुःख पाउने भन्दै छिमेकी गाउँका अभिभावक यहाँका केटालाई छोरी दिन मान्दैनन् ।’ करिब डेढ सय घरपरिवार पानीकै समस्याका कारण बसाइँ सरेका छन् । गढी क्षेत्रका बालबालिका बिहान पानी लिन जाँदा स्कुल नै छुट्ने गरेको छ । ‘बिहान ५ बजे घरबाट निस्किँदा पनि पानी लिएर फर्किँदा १० बज्छ,’ कक्षा ४ मा पढ्ने निशा र माया तामाङले भने, ‘आमा पँधेरो जाँदा मात्रै स्कुल जान पाइन्छ, हामी गयौँ भने स्कुल छुट्छ ।’
नयाँ पत्रिकाबाट





















प्रतिक्रिया