Logo

कोशी प्रदेश

वडाअध्यक्ष माथी हेलमेट प्रहार, भन्छन् उसलाई केही नगर्नुस



विराटनगरमा सडक नाला विस्तारको विषयमा विवाद हुँदा जनप्रतिनिधिमाथि हातपात भएको छ । विराटनगर– १५ स्थित प्रजातन्त्र मार्गको भित्री सडकको नाला निर्माण गर्ने विषयमा विवाद हुँदा वडाअध्यक्ष असलम आलममाथि हातपात भएको हो । स्थानीय प्रजातन्त्र मार्गको सडकको नाला निर्माणका क्रममा विवाद भएपछि स्थानीयले वडा अध्यक्ष असमल आलममाथि हेलमेट प्रहार गरेका थिए ।

सडक विस्तारको विषयमा विवाद भएपछि अध्यक्ष आलम छलफलका लागि पुगेका थिए । सोही क्रममा उनीमाथि स्थानीय दुई युवाले हेलमेट प्रहार गरेका हुन् । हेलमेटले अध्यक्ष आलमको अनुहारमा लागेको थियो ।  व्यक्तिको जग्गा सडकमा परेको भन्दै सुरु भएको विवादले कुटपिटको रुप लिएको हो । विवाद भएको खबर सुनेपछि मिलाउन पुगेका उनीमाथि आक्रोशित युवाले हेलमेट हानेको प्रहरीले जनाएको छ ।

यसैबीच वडा अध्यक्ष आलमले आफूमाथि कुटपिट गर्नेलाई नथुन्न प्रहरीलाई आग्रह गर्दै मिलापत्र गरेका छन् । आफ्नै वडाबासी भएकाले मिलापत्र गरेको उनले बताएका छन् । प्रहरीले साह द्वयलाई छाडेको छ । तानाले उनीहरु दाजुभाई हुन् । अध्यक्ष कुटिएपछि दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएकालाई प्रहरीले साँझ छलफल गरी छाडेको छ ।

अध्यक्षमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका प्रहरीले सन्तोष साह र विजय साहलाई केही समयपछि छाडिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । प्रहरी निरीक्षक इन्द्रबहादुर रानाले दुवै पक्षले सहमति गरेपछि मिलापत्र गराएर छाडिएको बताए । वडाअध्यक्ष आलम पनि विवाद सामान्य भएको बताउँछन् । आफूमाथि हेलमेट प्रहार भएपनि वडाका बासी भएका कारण माफी मागेपछि सहमति भएको उनले बताए ।

के हो विवाद ?

विराटनगर महानगरपालिका– १५ स्थित प्रजातन्त्र मार्गसँग जोडिएको भित्री सडकमा नाला निर्माणका क्रममा विवाद सुरु भएको थियो । नाला निर्माण गर्दा आफ्नो जग्गाको धेरै भाग सडकमा परेपछि विजय र सन्तोष आक्रोशित बनेका थिए । अन्य व्यक्तिको जग्गामा थोरै क्षेत्र अधिग्रहण गरेको र आफ्नो जग्गामा करिब डेढ मिटर बढी क्षेत्र हडप्न खोजेको भन्दै विरोध जनाएपछि विवाद बढेको थियो ।

प्रजातन्त्र मार्गमा पनि विवाद

मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजनाअन्तर्गत विराटनगर–१५ को प्रजातन्त्र सडकमा पनि विवाद छ । रानीपथ हड्ताली हाट हुँदै रामजानकी चौकसम्म १ हजार ५ सय मिटर सडक निर्माणको काम भइरहेको छ । उक्त सडकको नाम प्रजातन्त्र मार्ग हो । सो सडकमा पक्की नालासहित १५ मिटर चौडाइको सडक निर्माण गर्ने योजना थियो ।

नौं सय मिटर क्षेत्रसम्म सडकको काम भएपछि बाँकी क्षेत्रको काम गर्न सडकको चौडाई घटाइएको स्थानीयको आरोप छ । केही समयअघि स्थानीयले पत्रकार सम्मेलन गरी सडकको चौडाई घटाएको भन्दै विरोध गरेका थिए । शनिवार विवाद भएको सडक प्रजातन्त्र मार्गसँग जोडिएको शाखा सडक हो ।

विजय भन्छन्– म केही बोल्न चाहान्न्

वडा अध्यक्ष आलमलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका विजय साह सबै विषय मिलेका कारण आफू केही नबोल्ने बताए । शनिवार विवाद भएको विषयमा समाजका व्यक्तिहरुले छलफलमार्फत सामधान गरेका कारण आफूले नबोल्ने उनले बताए । यता विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी नभएको बताए ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार १३:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।