Logo

प्रमुख समाचार

वडा कार्यालयमा बम विस्फोट र आगजनी



रोल्पाको एक वडा कार्यालयमा बम विस्फोट र आगजनी गरिएको छ । परिवर्तन गाउँपालिकाको २ नम्बर वडा कार्यालय राङसीमा आइतबार राति साढे १२ बजे बम विस्फोट लगत्तै आगजनी गरिएको हो ।

सो वडा उपराष्ट्रपति नन्दबहादुर पुनको गृह वडा हो । अज्ञात समूहले विस्फोट गराउँदा कार्यालयको ढोकामा क्षति पुगेको छ । विस्फोट र आगजनीबाट कार्यालयका ढोका, पर्दा र डस्टबिन जलेका छन् ।

वडा अध्यक्ष हरिप्रसाद घर्तीले सोमबार विज्ञाप्ति जारी गर्दै विस्फोट र आगजनीबाट कार्यालयमा आशिंक क्षति भएको जनाएका छन् । पानी परिराखेका बेला विस्फोट भएकोले थप क्षति हुन नपाएको हो ।

घटनास्थलमा विस्फोट गराइएका टुक्राहरू र जुटका टुक्रा फेला परेका छन् । सुरुमा चट्याङ परेको ठानेका गाउँलेले वडा कार्यालयमा आगो सल्किएको देखेर निभाउन पुगेका थिए ।

राति नै तत्काल आगो नियन्त्रणमा आएको र अहिले त्यहाँको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिएका छन् । विस्फोट र आगजनीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको संलग्नता रहेको प्रहरीको आशंका छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार ०९:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।