Logo

पत्रपत्रिका

‘चिया पिउन आउँछु’ भन्दै प्रचण्ड देउवा निवास पुगेपछि…



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । नेकपाका अध्यक्ष प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएको पन्ध्रौं दिन विहीबार देउवा निवास बुढालिकण्ठ पुगेर प्रचण्डले देउवासंग भेटवार्ता गरेका हुन् । यो सामाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

समाचार अनुसार बुधबार साँझ दाहालले देउवालाई फोन गरे – म तपाईं कहाँ भोलि बिहान चिया खान आउन खोजेको छु । देउवाले पनि दाहाललाई सहजै स्वागत गर्दै भने, ‘आउनुहोस्, सँगै बसेर चिया पिउँला ।’ बुधबार साँझको संवादपछि बिहीबार बिहान धनगढी जानअघि दाहाल बूढानीलकण्ठ पुगेका थिए ।

बिहान सवा नौ बजेतिर बूढानीलकण्ठ पुगेका दाहाल र देउवाबीच झण्डै आधा घण्टा छलफल भयो । छलफलमा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखक पनि सहभागी थिए । १२ असारमा ललितपुरको कुपन्डोलस्थित होटल समिटमा बेलुकी काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको पहलमा दाहाल र देउवाबीचमा एक्ला एक्लै गोप्य भेटवार्ता भएको थियो । त्यसयता यी दुई नेताबीच छुट्टाछुट्टै भेटघाट भएको थिएन ।

भेटवार्ताको क्रममा सभापति देउवाले प्रचण्डलाई कार्यकारी अध्यक्ष भएकोमा बधाई दिएका छन् । ‘दाहाल कार्यकारी अध्यक्ष भएपछि सभापतिसँग एक्लै भेटेको पहिलो पटक हो,’ भेटमा सहभागी कांग्रेस नेता रमेश लेखकले भने, ‘उहाँहरूबीच शिष्टाचार भेट भयो, सामान्य कुराकानी भयो ।’ भेटमा देउवाले दाहालसँग प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेका थिए । दाहालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको जानकारी देउवालाई गराएका थिए ।

भेटमा दाहालले आफूले पार्टीमा कार्यकारी अध्यक्षको हैसियत पाएको र सबै राजनीतिक दलसँग मिलेर अघि बढ्ने बताएका थिए । राष्ट्रिय हितका विषयमा सबै दल एक हुनुपर्ने भन्दै सघाउनसमेत आग्रह गरेका थिए ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार ०१:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।