पूर्वाञ्चल विश्वविद्यालयले शनिबार आफ्नै परिसरमा प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई प्रमुख अतिथि बनाएर २६ औं वर्षगाँठ मनाइरहँदा उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा चार–चारवटा ताला झुन्डिरहेका थिए । ती ताला ६ महिनाअघि विभिन्न विद्यार्थी संगठनले लगाएका हुन् । यो विश्वविद्यालय चार महिनादेखि उपकुलपतिविहीन हुँदा कामचलाउको भरमा छ ।
तर कार्यक्रमका प्रमुख अतिथिलगायतले उपकुलपतिविहीनता र तालाबन्दीबारे केही उल्लेख नगरी आफ्नो ‘प्रवचन’ मात्रै सुनाए । नेपाल विद्यार्थी संघले पाँच सूत्रीय मागसहितको विज्ञप्ति टाँसेर गत असार ९ मा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा ताला लगाएको थियो । त्यसै दिन पुसेटका विद्यार्थीले अर्को ताला लगाए । ती दुई तालालाई चुनौती दिन असार २० मा अनेरास्ववियु, अखिल क्रान्तिकारी र संघीय विद्यार्थी फोरमले संयुक्त रूपमा अर्को ताला लगाए । ती तीन ताला नखुल्दै नेपाल विद्यार्थी संघले भदौ ८ मा फेरि अर्को ताला लगायो ।
तीनै समूहले विश्वविद्यालय सेवा आयोगका अध्यक्षको कार्यकक्षमा पनि भदौ पहिलो साता लगाएको ताला अझै खुलेको छैन । तालाबन्दीका बेला घनश्यामलाल दास उपकुलपति थिए । ताला खुलाउन पहलै नगरी उनको कार्यकाल भदौ ६ मा सकियो । त्यसपछि सरकारले व्यवस्थापन संकायका डिन बिजुकुमार थपलियालाई कामचलाउ उपकुलपति तोक्यो । उनी अहिलेसम्म कार्यकक्षमा छिर्न पाएका छैनन् । रजिस्ट्रार प्रमिला थापा पनि ६ महिनादेखि बाहिरै बसेर काम गरिरहेकी छन ।
विश्वविद्यालयका प्रमुख दुई पदाधिकारीको कार्यकक्षमा लगाइएका ताला खुलाउन कसैले पहल गरेको छैन । कामु उपकुलपति थपलियालाई तालाबन्दी गर्ने पक्षले टेर्दै टेरेनन् । तालाबन्दी गर्ने विद्यार्थी संगठनहरूलाई पटक–पटक सम्झाउँदा पनि पार नलागेको उनले बताए । तालाबन्दीकै कारण विश्वविद्यालयको दैनिक कार्य सञ्चालनमै समस्या भएको उनको गुनासो छ ।
विश्वविद्यालय प्रशासनले असोज १० मा काठमाडौंमा विश्वविद्यालयको ३० औं सभा गरेर बजेट कार्यक्रम पारित गरेको थियो । तर सभाले कार्यकारी परिषद्लाई पूर्णता दिन सकेन । पाँच सदस्यीय परिषद्मा दुई वर्षदेखि दुई सदस्य मात्र छन । परिषद्को सदस्यमा शिक्षकका तर्फबाट एक र डिनका तर्फबाट दुई सदस्य मनोनीत गरिनुपर्नेमा त्यसो हुन नसकेको स्रोतको भनाइ छ । विश्वविद्यालयको प्राज्ञिक परिषद्ले पनि पूर्णता पाएको छैन । शिक्षा तथा कला संकायका डिन शम्भु कोइरालाले लगातारको तालाबन्दी र उपकुलपति नियुक्तिमा ढिलाइले विश्वविद्यालय धराशायी भएको बताए ।
काठमाडौं विश्वविद्यालय (केयू) का प्राध्यापक र कर्मचारीले केन्द्रीय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेपछि तीन दिनदेखि शैक्षिक र प्रशासनिक काम ठप्प भएका छन् । विश्वविद्यालयसँग गरिएको पूर्वसम्झौता कार्यान्वयनको माग अघि सारेर प्राध्यापक र कर्मचारी संघले डिन कार्यालय, परीक्षा नियन्त्रणको कार्यालय, टेक्निकल ट्रेनिङ सेन्टरसहित प्रशासकीय भवनमा ताला लगाएका हुन् । तालाबन्दीका कारण परीक्षासमेत रोकिएको छ ।
गत भदौ ३१ मा विश्वविद्यालय प्रशासन, प्राध्यापक संघ र कर्मचारी संघबीच चारबुँदे सम्झौता भएको थियो । सम्झौता पालना गर्न आलटाल गरेका कारण तालाबन्दी गरिएको प्राध्यापक संघका अध्यक्ष वेदमणि दाहालले जानकारी दिए । प्राध्यापक, कर्मचारीको पेसागत हकहितका लागि पेसागत संगठन अस्तित्वमा रहनुपर्ने, उक्त संगठनको कार्यकारी परिषद्लगायत निकायमा प्रतिनिधित्व हुनुपर्ने, विश्वविद्यालयभित्रको आर्थिक अनियमितताबारे छानबिन गरिनुपर्ने र नियमानुसार प्राध्यापक, कर्मचारीले सेवा सुविधा पाउनुपर्ने माग राखेका छन ।
विश्वविद्यालय सभा र कार्यकारी परिषद्मा सहभागी गराउने पूर्वसहमतिलाई प्रशासनले बेवास्ता गरेको भन्दै प्राध्यापक र कर्मचारी आन्दोलित बनेको दाहालले बताए । ‘त्रिवि ऐनमै शिक्षकबाट प्रतिनिधि राख्ने प्रावधान छ, कार्यकारी परिषद्ले आफूअनुकूलका प्राध्यापकलाई छानेर राख्छ,’ उनले भने, ‘हाम्रो मागचाहिँ आफ्नो प्रतिनिधि आफैं चुनेर पठाउन पाउनुपर्छ भन्ने हो ।’ विश्वविद्यालयमा भइरहेका नीतिगत र आर्थिक भ्रष्टाचारका विषयमा छानबिन गर्न संघले माग गरेको छ । तर कारबाहीको साटो संरक्षण गरेको, संघसँग विभिन्न समयमा भएका प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै प्राध्यापक र कर्मचारी आन्दोलित छन् । ४१ दिनको निरन्तर तालाबन्दीपछि भदौ ३० मा भएको सम्झौतामा विश्वविद्यालय सभामा प्राध्यापक र कर्मचारीका एकएक प्रतिनिधि आमन्त्रित गर्ने सहमति भएको थियो । कान्तिपुरबाट





















प्रतिक्रिया