Logo

पत्रपत्रिका

प्रचण्डसँग चर्किएको अन्तरविरोधले ओली रक्षात्मक स्थितिमा



प्रधानमन्त्री केपी ओली स्वयंले सिर्जना गरेको समस्याको समाधान निकाल्न नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग कुनै न कुनै सम्झौता गर्नुपर्ने भएको छ । वर्तमान अवस्थालाई सुरक्षित अवतरणका लागि पूर्वप्रधानमन्त्री नेपालसँग सहकार्य र सम्झौता आवश्यक रहेको हो । केही समययता तिक्ततापूर्ण सम्बन्ध रहे पनि समस्या समाधान गर्न सत्तारुढ दलभित्र यस्तो अवस्था निम्तिएको हो ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग चर्किएको अन्तर्विरोधले ओलीलाई रक्षात्मक स्थितिमा पुर्‍याएको छ । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजानुपर्ने पार्टी निर्णय कार्यान्वयन गर्न बेवास्तापछि ओली आफ्नै दलभित्र असजिलोमा पर्दै आएका थिए । पार्टीलाई छलेर अध्यादेश ल्याउनेसम्मका काम गरेपछि अन्य नेता पनि उनको कार्यशैलीविरुद्ध दाहालसँगै उभिन पुगे । समस्या समाधान गर्न प्रधानमन्त्री ओली अहिले प्रयासरत छन् ।

उनले यति बेला वरिष्ठ नेता नेपाल पक्षसँग हात मिलाउन चाहेका छन् । त्यसकै लागि उनी आफैं र आपूmनिकट नेतामार्फत नेपाललाई फकाउने प्रयास भइरहेको छ। उनले सोमबार पनि नेपाललाई बालुवाटार बोलाएर झन्डै डेढ घण्टा छलफल गरे। छलफलको निष्कर्ष थियो-  मिलेर जाऔं । ओलीले त्यसलगत्तै दुवै पक्षका दोस्रो तहका नेताको सामूहिक छलफल गराएर भए पनि सहमतिको खोजी गरेका थिए ।

ओली–नेपाल भेटपछि कोटेश्वरस्थित नेपाल निवासछेउमै रहेको नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघको कार्यालयमा दुवै पक्षका नेताबीच छलफल चलेको थियो । नेपालसहित उनी पक्षधर स्थायी समिति सदस्य भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त र ओली पक्षका उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री तथा स्थायी समिति सदस्य शंकर पोखरेल र परराष्ट्रमन्त्री रहेका स्थायी समिति सदस्य प्रदीप ज्ञवालीबीच झन्डै चार घण्टा छलफल त्यहाँ भएको थियो । यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलवार ०९:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।