Logo

साहित्य

कविता – सरकार ! मलाई हरहालमा बाँच्नु छ



मेरा सन्तानले पनि
हजुरका सन्तानले झैँ
हजुर माँ !
भनेको सुन्नु छ ,
तिनलाई म छु है
भन्ने भान गराउनु छ ।
आफ्नालाई भरोसा दिलाउनु छ
आफन्तीको आँखाको बिश्वास कायम राख्नु छ
यो भय दोहनमा,
सरकार ! मलाई हरहालमा बाँच्नु छ ।

तिमी आलिसानको महल मै बस
करोडौंको गाडी चढ
नपुगे अझै भ्रष्टाचार गर
सात पुस्तालाई पुग्ने थुपार !
मलाई मात्र
दुई छाँक जोहो गर्नु छ,
सानो झुपडीमा सुकुनको निन्द्रा सुत्नु छ
जहाँ काल सम्म छिर्न नसकोस् !
धर्ती ओछ्याएर …
आकाशै छानो ओढेर सुत्नेका लागि भए पनि
सरकार ! मलाई हरहालमा बाँच्नु छ ।

तिमी दूधै दूध …
तरै तर … खाऊ
मलाई पानी हालेको मोही नै अमृत छ !
तिमी मासु भातै खाऊ
दिनहुँ दशैं मनाऊ
मलाई गुन्द्रुक ढिडो नै काफी छ !
खान त मलाई पनि जरुरी छ
जसरी तिमीलाई जरुरी छ !
फरक यति मात्र हो
तिमी दिनहुुँ स्वाद फेर्न खान्छौ !
मलाई भोक मेट्नु छ
केवल प्राण धान्नु छ
रोग सँग लड्नु छ ,
थोरै महँगी घटाई देऊ
सरकार ! मलाई हरहालमा बाँच्नु छ ।

म बाँच्नु छ किन कि,
यो संकटकाल झेल्नु छ
यो महामारीलाई ठेल्नु छ
भ्रस्टाचारीलाई जेल हाल्नु छ,
भ्रष्ट रवाफ नियाल्नु छ,
यो बिपतमा देखिएको
उन्मादको अललिदो हाँसो को हिसाब राख्नु छ,
त्यति मात्र हैन महोदय,
देशको ढुकुटी रित्याउने
कात्रोमा खल्ती सिलाउने
एक एकको रगत पिउनु छ ।
मेरी आमालाई बलात्कार गर्नेको
लास माथि …
कालो गुलाब चढाउनु छ ।
केही त सोचि देऊ !
सरकार ! मलाई हरहालमा बाँच्नु छ ।।

सँजिता बाँस्कोटा
झापा
हाल – काठमाडौं ३२, पेप्सिकोला

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार १३:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।