Logo

नेपालमा कम्युनिस्टबाट कांग्रेसले सिक्नुपर्ने पाठ



सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद समाधान भएको छ । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीचको कृतिम विवाद कार्यदलको बहानामा समाधान भएको छ ।

ओली र दाहालबीच कुनै पनि विवाद थिएन । पदको बाँडफाँडको विवाद सामान्य हो । सोही विवादलाई देखिाए ओली र दाहालले मुलुकलाई कम्युनिस्ट व्यवस्थामा लैजाने षड्यन्त्र गरेका छन् । महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले दिएको प्रतिवेदनमा नयाँ कुनै पनि कुरा छैन । ओली र दाहालका बीच पदको जिम्मेवारी कसले लिने भन्ने स्पष्ट देखिएको छ ।

पद र अन्य विवादहरू देखिाएर ओली–दाहालले मुलुकमा कम्युनिस्ट व्यवस्था ल्याउन चाहेको विश्लेषण हुन थालेको छ । नेकपाका शीर्ष नेताहरूले मिलाउनै नसक्ने गरेर कुनै पनि विवाद थिएन । दोस्रो वरीयताका नेताहरूले विवाद समाधानको प्रस्ताव बनाउने भन्ने कुरा निकै लज्जाजनक रहेको छ ।

प्रतिवेदनले ओली–दाहाल भनेका पदका लोभी मात्रै नभएर मिलिभगतमा अबको निर्वाचनमा विरोधी दलहरूलाई सिध्याएर कम्युनिस्ट शासन व्यवस्था ल्याउने गरेर रणनीति बनाएका छन् । कोभिड–१९ को महामारीका बेला नेकपाका नेताहरू संक्रमण रोकथाममा भन्दा पनि पद र शक्तिको पछाडि दौडिरहेका छन् । जनताको जीवन रक्षा गर्नेभन्दा पनि नेकपाका नेताहरू मुलुकमा चीनको जस्तो चिनियाँ मोडलको कम्युनिस्ट व्यवस्था ल्याउन चाहन्छन् ।

चिनियाँ मोडको शासन व्यवस्था ल्याउन उनीहरूले गृहकार्य स्वरुप विवाद भएको जस्तो देखाएर सबैलाई भ्रममा पारेर अगाडि बढ्न चाहन्छन् । केही महिना अगाडि चिनियाँ नेताहरूसँग नेकपाका सचिवालय सदस्य समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले भिडियो कन्फ्रेन्समार्फत बैठक गरेका थिए । त्योभन्दा अगाडि झण्डै दुई वर्ष पहिला चिनियाँ नेताहरूलाई ल्याएर सिंहदरबारको पश्चिम गेट नजिकै प्रशिक्षण समेत दिलाइएको छ ।

यी सबै घटना र परिवेशहरू हेर्दा नेकपाभित्रको विवाद देखावटी मात्रै हो । उनीहरूको भित्री योजना अर्कै छ । उनीहरू मुलुकमा जसरी पनि कम्युनिस्ट शासन व्यवस्था ल्याउन चाहन्छन् । ओली र दाहालबीच देखिएका यस्ता खालका कृतिम विवादलाई नेपाली कांग्रेसले रमाइलो मानेर हेरिरहेको छ ।

नेकपा फुट्ला र सत्तामा जाऔँला भनेर कांग्रेस नेताहरूले विचार गरिरहेका छन् । तर, कांग्रेसका लागि ठूलो चुनौती नेकपाले ल्याइदिएको छ । नेकपासँग पैसा, सत्ता र शक्ति सबै छ । विश्वशक्ति राष्ट्रका रुपमा उदाइरहेको चीनले नेपालमा चिनियाँ शैलीको कम्युनिस्ट शासन व्यवस्था लागू होस् भन्ने चाहन्छ ।

प्रकाशित : २१ भाद्र २०७७, आइतबार