बाउभन्दा पहिले श्रीपेच लगाउने संयोग पूर्वराजा ज्ञानेन्द्रको ललाटमा लेखियो । चार वर्षको निर्दोष बालक राजनीतिक दाउपेच, शक्तिसंघर्ष र षडयन्त्रको शिकार बन्नु आफैंमा उदेकलाग्दो परिदृश्य थियो । बालवयमा लगाइएको श्रीपेच क्षणिक तुष मार्ने साधन मात्र थिएन, राजनीतिक भोकको बीउ पनि थियो । बालक ज्ञानेन्द्रले हजुरबा त्रिभुवनको भद्रगोले शासन देखे । बाउको कुटिल र अदवपूर्ण राज्यकालको प्रत्यक्ष अनुभव गरे । सधैं कालोचश्मामा देखिने राजा महेन्द्र राजकीय कर्तव्यमा यति सचेत थिए कि छोराहरुसंग व्यक्तिगत मन्त्रणा कहिल्यै गरेनन । मुलुकको शासन सत्तामा पत्नीको संलग्नतालाई पुरै इन्कार गरे । विधिको विडम्बना उनी राजाका माहिला छोरा थिए । माहिलालाई सत्तारोहणको सुविधा हुँदैन । उनको जीवनमा देखिएका रंगहरुका आधारमा मूल्यांकन गर्दा ज्ञानेन्द्रभित्र पिताजीको शासन शैलीको अमिट छाप रहेको छ ।
०२८ सालमा पिता महेन्द्रको अप्रत्याशित निधनपछि श्रीपेचको हकदार जेठो सन्तान वीरेन्द्र भए । राजा महेन्द्रका तीन छोरा वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्रले एकाघरका दिदीबहिनी ऐश्वर्य, कोमल र प्रेक्षासंग लगनगाँठो कसे । राजाको जिम्मेवारी पाएका वीरेन्द्र सज्जन मानिन्थे । लप्पन छप्पन उनको शब्दकोषभित्र थिएन । राजकीय प्रशासनप्रति सत्प्रतिशत भरोशा राख्थे । विशुद्ध राजा भएर प्रशासन चलाउने उनको अभिष्ट थियो । लोकतन्त्रलाई शासन सत्तामा नअपनाए पनि लोकतन्त्रवादीको आवाज सुन्नुपर्छ भन्ने चेतना वीरेन्द्रमा थियो । त्यही मानसिकताकै प्रतिफल २०३७ सालमा पञ्चायत र बहुदलका विषयमा जनमत संग्रह भएको थियो । अलग मत राख्ने नेताहरुसंग वीरेन्द्रको संगत बाक्लो थियो । तात्कालिन अधिराजकुमार ज्ञानेन्द्र र रानी ऐश्वर्यहरुको समूहको विमति थियो । यिनीहरु दरवारभित्रै अनुदारवादको पक्षपोषक थिए । त्यतिबेलै पटक पटक भूमिगत गिरोहसंग यिनको नाम जोडिन्थ्यो । त्यो समयमा दरबारका कुरा सुनिने विषय मात्र थिए ।
२०४६ सालको आन्दोलनले नेपालमा बहुदल आयो । दलहरु स्वतन्त्र भए । जनचाहनाअनुसार संविधान बन्यो । सक्रिय राजतन्त्र संवैधानिक बन्धनमा सीमित भयो । यो परिवर्तन स्वयं अधिराजकुमार ज्ञानेन्द्र एवं कम्पनीका लागि प्रियकर थिएन । राजनीति घिसिपिटी चलिरहेकै थियो । ०५८ सालमा राजा वीरेन्द्रको बंशनाशपछि ज्ञानेन्द्रको जीवनले ‘यु टर्न’ लियो । अधिराजकुमार ज्ञानेन्द्र राजामा रुपान्तरित भए । सत्तारोहणपछि उनको पहिलो वाक्य थियो– ‘म दाजुको जस्तो टुलुटुलु हेरेर बस्दिन ।’ उनको सत्तारोहणताका माओवादी सशस्त्र विद्रोहमा थियो । राजनीतिक अस्थिरताले चरम रुप लिएको थियो । यस्तो अवस्थामा नयाँ भिजनसाथ आउनुपर्ने राजा नेता जोख्न मस्त थिए । भक्त खोज्नमा उनका दिनरात वित्न थाले ।
शेरबहादुर देउवाको सरकार ‘असक्षम’ घोषणा गरेपछि राष्ट्राध्यक्ष र सरकार प्रमुखको जिम्मेवारी लिएका ज्ञानेन्द्र रोबर्ट नेतृत्व बन्दै गए । आफू स्थापित हुने भन्दा पनि महेन्द्र बन्ने लोभ उनमा बढ्यो । एक्काइशौं शताब्दीको राजनीति गर्न बाउका साथी बटुल्न थाले । कीर्तिनिधि विष्ट, तुलसी गिरी यो समय नभई त्यो समयका नेता थिए । नयाँ गाडीमा पुराना ईन्जिन राख्नासाथ सरकारको तागत छरपस्ट भयो । तामझामकासाथ पहाड खनियो तर ज्ञानेन्द्रको शासनले मुसा पनि निस्किएन । सुशासन एकादेशको कथा बन्यो । उनी न आफू स्थापित भए, न दाजुको विरासत कायम गर्न सकेन । अन्तत एउटा समय आयो, बनवास रोज्न बाध्य हुनुप¥यो । रामायणमा एउटा प्रसंग छ । जीवनबाट विदा लिनुअघि रावणले रामलाई भनेका थिए– ‘उमेरमा म तिमीभन्दा पाको छु । ज्ञान र बलमा पनि अब्बल छु । तिम्रो सुनको घर, मेरो सुनको देश । तपस्या र क्षमतामा पनि कमजोर छैन । देशको आकार तिम्रो भन्दा ठूलो छ । सबै चीजमा उत्कृष्ट हुँदाहुँदै लडाईं जित्न सकिन । यसको एउटैका कारण हो– तिम्रो भाइ तिम्रो साथमा छ, मेरो भाइ शत्रुसंग छ ।’
चार वर्षमा लगाएको श्रीपेच परिपक्व भएपछि लगाउने सुअवसर प्रारब्धले दियो । तर त्यसलाई जोगाउने कला उनमा देखिएन । काल परिस्थितिलाई कसी लगाउने क्षमता शून्य रह्यो । राजनीतिक दलहरुले उनैबाट सपथ खाएर, उनैलाई सिध्याइदिए । पहिलो पटकको श्रीपेच थाहा नपाएर गुम्यो, दोस्रो पटकको श्रीपेच हुस्सु भएर गुम्यो । बाघले खाएपनि किलो रित्तै, कालले लगेपनि किलो रित्तै । ज्ञानेन्द्रको अवसर सत्ता र शक्तिको माथापच्चीमै वित्यो ।
धेरै अवगुण बाबजुद् ज्ञानेन्द्रमा धेरै गुण छन् । उनको हाँसोभित्र नेताहरुको पासो अल्झिएको छ । पीडा लुकाउन सक्ने अद्भूत क्षमता छ । भित्रैदेखि देशको माया गर्छन् । परिवारभित्रको विग्रह सन्तुलित राख्न सक्छन् । उनका पनि कथा व्यथा छन् । उनको आँखामा पनि आँसु आउँछ । चोटले पिरोल्छ । यद्यपि सम्हाल्ने तागत राख्छन् । आफूमाथि हानिएको हतियारको बद्ला फूलले सत्कार गर्छन् । नराम्रो बोल्दैन । जतिसुकै प्रतिकूल अवस्था आएपनि बाघले घाँस खाँदैन भन्ने सन्देश उनको जीवनले दिएको छ ।
प्रतिक्रिया