वार्षिक बिन्दुगत आधारमा चालु आर्थिक वर्ष २०७७/७८ को सात महिनामा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २ दशमलव ७० प्रतिशत रहेको छ । यो वर्षको सात महिना अर्थात माघ मसान्तसम्म आयात ० दशमलव ०१ प्रतिशत र निर्यात ७.६ प्रतिशतले वृद्धि भएको छ ।
सोही अवधिको विप्रेषण प्रवाह नेपाली रुपैयाँमा १० दशमलव ९ प्रतिशतले बढेको छ भने अमेरिकी डलरमा ६ दशमलव ७ प्रतिशतले बढेको छ । राज्यको शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंककाअनुसार राज्यको ढुकुटीमा कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ५७ करोड अमेरिकी डलर रहेको छ । चालु आर्थिक वर्षको सात महिना संघीय सरकारको खर्च ४ खर्ब ९९ अर्ब ६८ करोड रहेको छ भने राजस्व परिचालन ४ खर्ब ९८ अर्ब ५२ करोड रुपैयाँ भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
समीक्षा अवधिमा विस्तृत मुद्राप्रदायक १० दशमलव ३ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २३ दशमलव ३ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९ दशमलव ८ प्रतिशत र निजी क्षेत्रमाथिको दाबी १४ दशमलव ० प्रतिशतले बढेको छ ।
वार्षिक बिन्दुगतआधारमा भने निक्षेपको वृद्धिदर २२ दशमलव ४ प्रतिशत र निजी क्षेत्रमाथिको दाबी वृद्धिदर १७ दशमलव ३ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क सन्तोषजनक नै रहेको विज्ञहरुको विश्लेषण छ । यस समयमा नेपालले आफ्नो वैदेशिक व्यापारमा केही सुधार गर्न सफल रहेको देखिन्छ ।
आर्थिक वर्ष २०७७/७८ को सात महिनामा कुल वस्तु निर्यात ७ दशमलव ६ प्रतिशतले वृद्धि भई ६९ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२ दशमलव ४ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फm क्रमशः १० प्रतिशत र ४ दशमलव ९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने ची नतर्पmको निर्यातमा ४७ दशमलव ७ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा सोयाविन तेल, अलैँची, जुटका सामान, पश्मिना, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, जुस, तार लगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०७७/७८ को सात महिनामा कुल वस्तु आयात ० दशमलव ०१ प्रतिशतले वृद्धि भई ८ खर्ब ३ अर्ब ६४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३ दशमलव ६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ७ दशमलव १ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १२ दशमलव ४ प्रतिशत र १० दशमलव ८ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम.एस.बिलेट, सुन, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चापाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात भने घटेको छ ।
निर्याततर्फ सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फm भैरहवा, विराटनगर, नेपालगन्ज, कृष्णनगर, कैलाली र कञ्चनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।
आर्थिक वर्ष २०७७/७८ को सात महिनामा कुल वस्तु व्यापार घाटा ० दशमलव ७ प्रतिशतले घटी ७ खर्ब ३३ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५ दशमलव ३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयातअनुपात ८ दशमलव ७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८ दशमलव १ प्रतिशत रहेको थियो ।





















प्रतिक्रिया