Logo

प्रमुख समाचार

शिक्षामन्त्री र स्विस राजदूतबीच भेट, प्राविधिक तथा व्यवसायिक परियोजनामा लगानी गर्न छलफल



शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालस्थित स्विट्जरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापेलरबीच भेटवार्ता भएको छ । बिहीबार बिहान मन्त्रालयमा भएको भेटवार्तामा प्राविधिक तथा व्यवसायिक परियोजनामा लगानी गर्ने विषयमा छलफलसमेत भएको छ ।

छलफलका क्रममा मन्त्री पौडेलले स्विट्जरल्याण्ड सरकारले नेपालमा प्राविधिक शिक्षाको विकास र विस्तारका लागि लामो समयदेखि प्राविधिक र आर्थिक क्षेत्रमा निरन्तर रुपमा सहयोग गर्दै बताउँदै थप परियोजनामा सहयोग गर्न आग्रह गरिएको बताए । उनले प्राविधिक तथा व्यवासायिक शिक्षा एवम् तालिमको माध्यमबाट सिपयुक्त दक्ष जनशक्ति तयार गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्ध नेपाल निर्माणको यात्रामा स्विट्जरल्याण्ड सरकारबाट थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

मन्त्री पौडेलले भने– ‘हामी प्राविधिक शिक्षाको क्षेत्रमा वैदेशिक सहयोग परिचालन गर्ने सम्बन्धमा संयुक्त लगानी कार्यढाँचा (स्वाप मोडेल) विकास गरी साझेदारसँग सहकार्य गर्दै जाने सोचका साथ आवश्यक कार्य गरिरहेका छौं । यस विषयमा महामहिम राजदूतबाट थप प्राविधिक सहयोगको अपेक्षागरिएको छ ।’

त्यस्तै भेटघाटका क्रममा राजदूत क्यापेलरले प्राविधिक तथा व्यवसायिक परियोजनाका लागि शिक्षा मन्त्रालयले आवश्यक कानून पारित गरी लगानीको वातावरण सिर्जना गर्न आग्रह गरेकी थिइन् । उनले भनिन्– ‘हाम्रो देशमा ८० प्रशितमा विद्यार्थी प्राविधिक तथा व्यवासायीक शिक्षामा छन् । उनीहरू त्यहाँबाट सिधै रोजगारीमा केन्द्रित हुन्छन् त्यही अनुसार शिक्षामन्त्रालयले कानून निर्माण गरोस् भन्ने हाम्रो भनाइ हो ।’

स्विट्जरल्याण्ड सरकारले जिरी र बालाजुमा प्राविधिक शिक्षालयको स्थापना गरिदिएको छ । त्यस्तै प्राविधिक तथा व्यावसायिक शिक्षामा प्रशिक्षकहरुका लागि तालिम, रोजगार कोष परियोजा, व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाका लागि प्राविधिक सहयोग, विद्यावारिधि र उच्च विद्यावारिधि गर्न छात्रवृत्तिलगायतमा सहयोग गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार १३:३०   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।