Logo

प्रमुख समाचार

माधव नेपाल जनकपुर आउँदै, दुई मन्त्रालयसहित नेकपा एस प्रदेश सरकारमा जाने



महोत्तरी । प्रमुख दलका शीर्ष नेताहरु पछिल्लो समय प्रदेश-२ केन्द्रीत हुन थालेका छन् । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्रम गरेर फर्किएसँगै नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि जनकपुर आउने भएका छन् ।

७ मंसिरमा अध्यक्ष नेपाल जनकपुर आउने तय भएको नेकपा एस प्रदेश २ कमिटीले जनाएको छ ।

अध्यक्ष नेपालले ७ गते तिनकोरियामा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै विभिन्न पार्टी परित्याग गरी नेकपा एसमा प्रवेश गर्ने २ सयभन्दा बढी नेता, कार्यकर्तालाई स्वागत गर्ने र भोलिपल्ट ८ मंसिरमा लहानको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको नेकपा एस प्रदेश-२ का अध्यक्ष धर्मदेव साहले जानकारी दिए ।

८ गते नै अध्यक्ष नेपाल जनकपुर फर्किएर प्रदेश कमिटीको कार्यालयको औपचारिक उद्घाटन गरेर संघीय राजधानी फर्कने कार्यक्रम रहेको अध्यक्ष साहको भनाइ छ ।

नेकपा एस प्रदेश-२ सरकारमा सहभागी हुँदै

यसैबीच नेकपा एस प्रदेश-२ को सरकारमा सहभागी हुने भएको छ ।

एसले सरकारमा सहभागी भएर उद्योग वन तथा वातावरण मन्त्रालय र कानुन तथा प्रदेश मामिला मन्त्रालयको नेतृत्व गर्ने तय भएको अध्यक्ष धर्मदेव साहले जानकारी दिए ।

वन तथा वातावरण मन्त्रालयमा शत्रुधन महतो र कानुन तथा प्रदेश मामिला मन्त्रालयमा प्रमोद यादव र राज्यमन्त्रीमा नागेन्द्र साहलाई पठाउने सहमति भइसकेको पनि उनको भनाइ छ ।

भोलि नै नेकपा एसबाट सिफारिस भएका मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम रहेको नेकपा एसले जानकारी दिएको छ ।

प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार  १२ : ३८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।