Logo

समाचार

बर्थिङ सेन्टरमा प्रसूति गराउनेमध्ये काेही खुसी, केहीलाई अविश्वास



सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका-१ की २५ वर्षीया फुर्पा खेन्दो शेर्पालाई सुत्केरी हुँदाको लामो प्रसव वेदना सहन परेन । किनकि अस्पतालले दिएको सुत्केरी मितिभन्दा अगाडि नै उनले बर्थिङ सेन्टरमा जाने निर्णय गरिन् । लिन घरमै एम्बुलेन्स पुग्यो र बर्थिङ सेन्टरमै उनले छोरा जन्माइन् ।

चनौटे बजारभन्दा माथि महांकालमा रहेको इचोक स्वास्थ्य चौकी (बर्थिङ सेन्टर) आइपुग्न मेलम्ची घ्याङबाट उनलाई मुस्किलले चार घन्टा पैदल हिँड्न पर्थ्याे । तर गाउँपालिकाले व्यवस्था गरेको एम्बुलेन्सबाट दुई घन्टामै बर्थिङ सेन्टर आइपुगिन् ।

उनले एम्बुलेन्सको भाडासमेत तिर्नुपरेन । बरु सरकारले सुत्केरीलाई पोषिलो खानेकुरा खुवाउन यातायातका लागि दिने जम्मा रकम ३८ सयमाथि गाउँपालिकाले थप गरेर ६ हजार चार सय रुपैयाँ दियाे । आफ्नै गाउँमा यो सेवा पाएपछि खुसी छिन् फुर्वा।

हेलम्बु गाउँपालिकाले सुत्केरी आमाहरूलाई राम्रो व्यवस्था गरेको उनले बताइन् । ‘पहिला त सुत्केरी गराउन धुलिखेल, काठमाडौं पुग्न पर्थ्याे, अहिले पालिकामै राम्रो व्यवस्था छ’, उत्साहित हुँदै उनले भनिन् ।

‘सुत्केरी गराउँदा आमा र बच्चाको स्वास्थ्य राम्रो हुनेमा अब हामी विश्वस्त छौँ’, पाचँपोखरी थाङपाल गाउँपालिकाकी स्थानLय सरिता खत्रीले भनिन्।विगतमा घरमै सुत्केरी गराउँदा समस्या पर्‍याे भने सदरमुकाम अस्पतालमा पुग्न घण्टौ लाग्ने, हेलिकाेप्टरमार्फत उद्धार गर्नुपर्ने हुँदा जोखिम र खर्चालु हुने गरेको उनकाे भनाइ छ ।

त्रिपुरासुन्दरी गाउँपालिका- १ गोर्थली बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी गीता न्यौपानेले पछिल्लाे समय गर्भवती महिला नियमित स्वास्थ्य परीक्षणमा आउने गरेकाे बताइन् । पालिकाले नियमित चेकअप गरेमा एक-एक क्रेट अण्डाको व्यवस्था गरेकाे उनले सुनाइन् ।

हेलम्बु-७ इचोक स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी सरीता खनालले भिडियो एक्सरेसमेत हुने भएकाले बर्थिङ सेन्टरमा सुत्केरी गराउन आउनेको संख्या बढेकाे जानकारी दिइन् । गाउँपालिकाले सुत्केरी हुन बर्थिङ सेन्टर आउने महिलालाई एम्बुलेन्स घरमनै लिन पठाउने र सुत्केरी भएपछि घरमै पुर्‍याउने गरेको छ । असारयता ३० हाराहारीमा प्रसूति गराइएको उनले बताइन् ।

तर स्याउलेकी सुमित्रा सापकोटा सुत्केरी हुन धुलिखेल अस्पताल पुगिन्। स्वास्थ्यकर्मीको अविश्वास र शरीरमा रगत दिनुपर्ने अवस्था आएमा ब्लड बैंकसमेत चौतारा अस्पतालमा नहुँदा जोखिम मोल्न उनले चाहिनन् । उनी भन्छिन्,“सुत्केरी हुँदा अवस्था जटिल भयो भने यताबाट धुलिखेल वा काठमाडौ रेफर गर्छन् बरु उतै गएर सुत्केरी हुँदा मानसिक तनाव त हुँदैन।”

दुर्गम ठाउँका बर्थिङ सेन्टरमा समस्या

भूगोलको हिसाबले दुर्गम ठाउँमा बर्थिङ सेन्टर स्थापना भए पनि उपकरणा अभाव, सडक सञ्चालनमा समस्या, तालिमप्राप्त स्वास्थ्यकर्मीको समस्या हुने गरेको छ । यसका लागि स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्य कर्मचारीको क्षमता विकासका लागि तालिम सञ्चालन गरीरहेको छ ।

सुरक्षित मातृत्वको क्षेत्रमा काम गर्दै आएकी स्वास्थ्य कार्यालय सिन्धुपाल्चोककी जनस्वास्थ्य अधिकृत कविता पाठकका अनुसार जिल्लामा बर्थिङ सेन्टर ३२ प्रतिशत सञ्चालनमा छन् । तर यति हुँदा पनि कुनै बर्थिङ सेन्टरमा वर्षमा ५-१० वटा मात्रै प्रसूति हुने गरेकाे छ । आफ्नै समुदायमा प्रसूति गराउन सुविधा हुँदा पनि जनचेतनाको अभावका कारण सुत्केरी गराउन धुलिखेल, काठमाडौ जस्ता ठाउँमा जाने धेरै रहेकाे उनले सुनाइन् ।

जिल्लामा बर्थिङ सेन्टर ४३ वटा सञ्चालनमा छन् भने चाँडै थप सातसहित जम्मा ४७ वटा बर्थिक सेन्टर सञ्चालनमा आउने भएका छन् । तर अझै पनि तथ्यांक हेर्दा सिन्धुपाल्चोकमा संस्थागत डेलिभरी एकदमै कम छ ।

प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार  १० : २८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।