महाधिवेशनको नतिजासँगै देशमा एक जमात पार्टीको नतिजामा बहस गर्न व्यस्त छ । प्रमुख प्रतिपक्षि रहेको नेकपा एमालेको महाधिवेशनसँगै निर्वाचन सत्र सकिएर नतिजा आएको छ । नतिजामा केही उथलपुथल होला भन्ने आशमा बसेका समानान्तर जनता भने फेरि खाल्डोमा नै फसेको अनुभूत गरिरहेको पाइन्छ ।
वास्तवमा नेपाली जनताले अनुमान लगाएको विषय नै नेपालका थुप्रै दलका थुप्रै नेता श्रीपेच नलाएका राजाजस्ता बनेर निक्लेका छन् । पुरानै राजतन्त्रको बानी व्यहोरा, प्रवृत्ति र संस्कृतिको निरन्तरताले आम नागरिकमा प्रश्न उठेको छ– गणतन्त्र आयो भन्थेँ तर अहिलेका नेता र पहिलेका राजामा फरक नै के छ र ? पहिले राजा एउटा हुन्थ्यो । यहाँ त अहिले दलै पिच्छे राजैराजा निक्लिएका छन् भन्ने हो ।
विश्राम लिएर आराम गर्नुपर्ने मान्छे फेरि पार्टीको नेतृत्वमा देख्दा चाहिँ नेकपाको विकल्प नै नभएको हो कि भन्ने देखिन्छ । के नेकपाको यही हो त राजनीति ? राजनीति भनेको केपी ओली मात्रै हो ? केपी ओलीदेखि ओलीसम्म विरोध र समर्थनको गोलचक्करले नेपाली जनताको राजनीतिक, सामाजिक र साँस्कृतिक आवश्यकता पूर्ति हुन सक्छ कि सक्दैन भन्ने कुरा कार्यकर्ताले बुझेका छन ? आर्थिक उत्थानका कार्यक्रम र योजनामा नागरिक र जनतालाई विश्वास गर्न सक्ने वातावरण निर्माण गर्नु पनि राजनीतिको काम होइन ? यस्ता अनेक सवालमा नेपाली राजनीतिले जवाफ दिन सकेको छैन ।
हिजोको दिनमा नेतालाई पूजाकोठामा लुकाउने पनि यही जनता, भोट दिएर माथि पुर्याउने पनि यही जनता, आफ्नो स्तरमा सुधार नहुँदा खुसी देखिने पनि यही जनता । आखिर जनता के को लागि ? भोटको लागि कि जनगणनामा गन्नको लागि ?
यता पढेका र बुझेका युवा भने हो मा हो मिलाएर कुदेका छन् के का लागि ? यो प्रश्न ती दौडिने युवालाई थाहा छ कि छैन ? युवा सहभागिता राजनीतिक संगठनहरूमा तिनले नेतृत्व गरेको पदको संख्याबाट झल्किन्छ ।
राजनीतिक उम्मेदवारको रूपमा प्रायः युवाहरूलाई वहिष्कार नै गर्ने गरिएको छ । यसैको परिणाम देखिएको हो, नतिजासत्रमा । जसले देश चलाएका थिए । तिनै नेतृत्वमा आउँदा हामीले हर्सोउल्लास गर्नुको कुनै तुक छैन । नेपाली राजनीति तिनकै खुट्टा वरपर घुमिरहेको छ । जुन गलत रहेको छ ।




















प्रतिक्रिया