नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरका रूपमा प्रा. डा. बिश्वराज पौडेलको नियुक्तिले देशको अर्थतन्त्रप्रति नयाँ आशा र अपेक्षा बोकेको छ । अहिले मुलुकले आर्थिक संक्रमणको कठिन चरण पार गरिरहेको छ । उच्च मुद्रास्फीति, घट्दो विदेशी मुद्रा सञ्चिति, निजी क्षेत्रको लगानी घट्दो क्रममा, र बैंकिङ क्षेत्रमा देखिएको तरलता संकटजस्ता गम्भीर चुनौतीबीच गभर्नर पौडेलले कार्यभार सम्हालेका छन् । यस्तो अवस्थामा राष्ट्र बैंकको नेतृत्व केवल नीतिगत हैन, विश्वासको नेतृत्व पनि बन्नु आवश्यक छ ।
पौडेल विगतदेखि नै अर्थ प्रशासन र वित्तीय क्षेत्रका जानकार व्यक्ति हुन् । उनीसँग नीति निर्माण र कार्यान्वयन दुबैको अनुभव छ । तर, राष्ट्र बैंकको गभर्नरको कुर्सीमा बस्दा ती सबैभन्दा फरक प्रकृतिका चूनौतिहरू सामना गर्नुपर्नेछ । मौद्रिक नीति सञ्चालन, बैंक तथा वित्तीय संस्थाको नियमन, मुद्रा आपूर्ति व्यवस्थापन, तथा वित्तीय स्थायित्वको रक्षा— यी सबै जिम्मेवारी गभर्नरकै काँधमा रहन्छ ।
गभर्नरले व्यावसायिकता, पारदर्शिता र निष्पक्षता देखाउन सक्नुपर्छ । बैंकिङ प्रणालीमा आमनागरिकको भरोसा घट्दै गएको वर्तमानमा राष्ट्र बैंकप्रति जनविश्वास पुनःस्थापित गर्नु पहिलो प्राथमिकता हुनुपर्छ । यसका लागि नीति पारदर्शी, यथार्थमा आधारित र समावेशी हुनुपर्छ । विशेषगरी साना तथा मझौला व्यवसायी, महिला उद्यमी, र ग्रामीण जनताका लागि वित्तीय पहुँच विस्तार गर्न राष्ट्र बैंकले सक्रियता देखाउनु अपरिहार्य छ ।
त्यसैगरी डिजिटल बैंकिङको बढ्दो प्रयोगले साइबर सुरक्षाको चुनौतीसमेत बढाएको छ। राष्ट्र बैंकले अब डिजिटल वित्तीय संरचना सुरक्षित बनाउने नीतिगत स्पष्टता ल्याउनुपर्छ । साथै, सहकारी क्षेत्र, लघुवित्त संस्था र बाणिज्य बैंकबीच समन्वय गराउँदै नीति कार्यान्वयन गर्नु अर्को चुनौती हुनेछ ।
सबैभन्दा महत्वपूर्ण कुरा के हो भने, राष्ट्र बैंक राजनीतिक हस्तक्षेपबाट टाढा रहनुपर्छ । गभर्नरले संस्था स्वतन्त्र रूपमा चलाउने वातावरण सिर्जना गर्नुपर्छ । नाफामुखी आर्थिक माफियाको प्रभाव र राजनीतिक स्वार्थभन्दा माथि उठेर निष्पक्ष निर्णय लिन सक्नुपर्छ ।
गभर्नर बिश्व पौडेलप्रति जनअपेक्षा उच्च छ । यो विश्वासलाई उनले दीर्घकालीन सोच, निष्पक्ष निर्णय र परिणाममुखी कार्यशैलीमार्फत सार्थक बनाउन सकून् । नेपाली अर्थतन्त्रको पुनरुत्थान अबको नेतृत्वमा निर्भर छ ।
प्रतिक्रिया