भाद्र २३/२४ को आन्दोलनले नेपालमा नयाँ राजनीतिक युगको ढोका खोलेको छ। १९ युवाको बलिदानले दिएको सन्देश प्रष्ट छ—अब ५० वर्ष नाघेका नेताहरूले सत्ता र नेतृत्व सम्हाल्ने अधिकार त्याग्नुपर्छ।
आजको विश्व प्रविधि र नवीन सोचमा अगाडि बढिरहेको छ। त्यहाँ अझै पुरानै शैली, पुरानै विचार र पुरानै सत्तामोहमा अल्झिएका नेताहरूको नेतृत्वमा नेपाल अघि बढ्छ भन्ने कल्पनै गर्न सकिँदैन। केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल मात्र होइन, ५० कटेका सम्पूर्ण पुस्ताले अब राजनीतिलाई नयाँ पुस्तासँग हातबदली गर्नुपर्ने देखिन्छ।
युवाहरूले सडकमा दिएको सन्देश केबल भावनात्मक होइन, व्यावहारिक पनि हो। ५० कटेका नेताहरूले पार्टी संरचना कब्जा गर्दा नयाँ सोचका लागि ठाउँ बाँकी रहेन। परिणामस्वरूप भ्रष्टाचार, अवसरवाद, गुटबन्दी र निराशा मात्रै बढ्यो। आज लाखौं युवाहरू रोजगारीको खोजीमा विदेश पलायन हुन बाध्य हुनु पनि यही नेतृत्वको असफलताको परिणाम हो।
अब समय आएको छ—५० वर्ष नाघेका नेताहरूलाई सल्लाहकार भूमिकामा सीमित गर्ने। नेतृत्वको भारी जेन्जी पुस्ताले उठाउनुपर्छ, जसले प्रविधि, नवीन विचार र पारदर्शितासहित देशलाई नयाँ दिशातर्फ लैजान सक्छ।
यदि पुराना नेताहरू अझै पदमा टाँसिएर बस्छन् भने सडक फेरि निर्णायक हुनेछ। भाद्र २३/२४ को बलिदान खेर जाने छैन, किनकि यो आन्दोलनले देखाएको बाटो नेतृत्व पुस्तान्तरणको अपरिहार्यता हो।
समयले दिएको सन्देश स्पष्ट छ—५० कटेका नेताले बिदा लिनुपर्छ, र जेन्जी पुस्ताले भविष्य निर्माणको जिम्मा लिनुपर्छ।



















प्रतिक्रिया