Logo

बैंकिंग

नागरिक लगानी कोषको ‘नागरिक पेन्सन योजना’ मा Exclusive Banking Partner को रुपमा एन आई सी एशिया बैंक नियुक्त



नागरिक लगानी कोषको ऐतिहासिक ‘नागरिक पेन्सन योजना’ मा एन आई सी एशिया बैंक Exclusive Banking Partner को रुपमा नियुक्त भएको छ । सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गर्ने, त्यस्तो बचतलाई देशको आर्थिक विकासमा परिचालन गर्ने र सक्रिय जीवनकालमा जम्मा गरेको रकमबाट बचतकर्ताको जीवनयापनलाई सहजीकरण गर्ने उद्देश्यले बैंक नियुक्त भएको हो । 

बैंक र कोषबीचको समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन् । 

‘नागरिक पेन्सन योजना’ सर्वसाधरण नेपालीको हितमा ल्याएको छ । सम्पूर्ण नेपालीहरूलाई एउटा नवीन तथा सहज पेन्सन योजनाको आवश्यकताको पहिचान र महसुस गर्दै नागरिक लगानी कोषले यस उत्कृष्ट योजना ल्याएको हो । 

यस पेन्सन योजना अन्तर्गत आय आर्जन गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक÷कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरू सहभागी हुन सक्नेछन् । ‘जवानीमा कमाऔं, जमाऔं र बुढेसकालमा रमाऔं’ भन्ने नाराको साथ ल्याईएको उक्त योजनामा सम्पूर्ण नेपाली नागरिकहरू सहभागी हुन सक्ने छन् । यस योजनाका सहभागीहरूले न्यूनतम मासिक रू. ५०० देखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा मासिक किस्ता रकम जम्मा गर्न सक्ने प्रावधान रहेको छ ।

सर्वाधिक ग्राहक संख्या, देशैभरी रहेका शाखाहरू तथा विस्तारित काउण्टरहरू एवं डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहेको तथा ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन रणनीति अपनाइरहेको यस बैंकमार्फत सहज रुपले देशका ग्रामीण भेगका जनमानसहरू समेत यस पेन्सन योजनामा सहभागी हुन सक्नेछ । यस बैकमा रहेको कोषको खाता नम्बर ०५४४१५१०३५२१७०१२ मा किस्ता रकम जम्मा गर्न सक्ने व्यवस्था सहित बैंकले छुट्टै भौचरको व्यवस्था गरिसकेको छ । साथै बैंकले निकट भविष्यमा कोषसँगको सहकार्यमा विद्युतीय भुक्तानी सेवामार्फत नागरिक पेन्सन योजनाका सहभागीहरूले बैंक नै नगई जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइन माध्यमबाट किस्ता रकम भुक्तानी गर्न मिल्ने तयारी गरिरहेको छ । 

बैंकले हाल ३२६ शाखा कार्यालयहरू, ४६७ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ११ : ४१ बजे