Logo

सम्पादकीय

महाधिवेशन : राप्रपाले एमाले र कांग्रेसलाई सिकाएको पाठ



सोह्र श्राद्धपछि आउने चाडपर्वझैँ नेपाली राजनीतिमा महाधिवेशनको चाडपर्व लागिरहेको छ । शीर्ष दल मानिने नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपाको महाधिवेशन सकिएको छ भने माओवादी केन्द्र पनि महाधिवेशनको तयारी गरिरहेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपाले आफ्नो सभापति पाइसकेको छ । सभापतिको विजयपश्चात् भने सभापतिको गुनगान र खैरो नेपाली जनताले खनिरहेका छन् ।

महाधिवेशन भनेको झारो टार्ने काम मात्र होइन । महाधिवेशनले आफ्नो नेतृत्व बहन गर्न सक्ने ल्याकत भएको मान्छे अपनाउने मार्गमा प्रस्थान गर्छ । नेकपा एमालेले आफ्नो नेतृत्व पुरानै चालकको हातमा सुम्पिएको छ भने कांग्रेसको हाल पनि त्यही नै देखिएको छ । तर यस विषयमा राप्रपा भने फरक मत लिएर अगाडि आएको छ । कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देनले अब राप्रपाको बस हाँक्नेछन् ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि कांगेस र कम्युनिष्टमा नलागेका पूर्वपञ्चहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी गठन गर्ने प्रयास गरे । तर, एकीकृत पार्टी बनाउन सहमति नबनेपछि पटक प्रधानमन्त्री बनिसकेका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा दुईवटा राप्रपा जन्मिए । पार्टी एकता गरेर चुनाव लडेको राप्रपा २०५१ को मध्यावधि निर्वाचनमा तेस्रो शक्ति बन्यो । २०५३ मा तत्कालीन नेकपा (एमाले) को समर्थनमा लोकेन्द्रबहादुर चन्द र २०५४ मा कांग्रेसको समर्थनमा सूर्यबहादुर थापा प्रधानमन्त्री बने । तर, सत्तामोहले राप्रपामा विभाजन ल्यायो । ०६२ पुसमा कमल थापाले पार्टी फुटाएर राप्रपा नेपाल स्थापना गरेका थिए । त्यतिबेलाको विवाद थियो, १९ माघ ०६१ को शाही कदमप्रति समर्थन या विरोध ।

राणा र पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले शाही कदमको विरोध गरे, कमल थापा पक्षमा उभिए । शाही शासन चलिरहँदा सूर्यबहादुरले राष्ट्रिय जनशक्ति पार्टी गठन गरे । असार ०७० मा त्यो पार्टी फेरि राप्रपामा विलय भयो । २०७० को संविधानसभामा निर्वाचनमा चौथो ठूलो दल बनेको राप्रपा (नेपाल) र राप्रपाबीच फेरि एकता त भयो, तर टिक्न सकेन । २०७४ को चुनावमा तीनवटा राप्रपाले गाई, वर्गाकारभित्रको हलो र गोलाकारभित्रको हलो चिह्न लिएर चुनाव लड्यो । प्रत्यक्षतर्फ गाई चिह्न लिएर लडेका राजेन्द्र लिङ्देन बाहेक कसैले पनि चुनाव जित्न सकेनन् । त्यसपछि भने दल चलाउन योग्य ठानिएका राजेन्द्र लिङ्देनलाई नै हालको महाधिवेशनबाट दलको जिम्मेवारी सुम्पिएको छ ।

त्यसो त राष्ट्रिय राजनीतिको मूलधारमा दक्षिणपन्थको किल्लाका रुपमा रहेको पार्टीको कमान्डर बनेका लिङ्देन अन्य पार्टीका अध्यक्षको तुलनामा कम उमेरका छन् । पहिले केपी ओलीको साथले सांसद जितेका लिङ्देनलाई यसपटक पार्टीको चुनावमा पूर्वराजा ज्ञानेन्द्र शाहले अतिरिक्त सहयोग गरेर जिताएको पराजित नेता कमल थापाको आरोप छ । ‘जित स्वाभाविक थियो,’ अध्यक्ष जितेपछि लिङ्देनले हाँकका साथ भनेका थिए, ‘जनताले नेतृत्व परिवर्तन चाहिरहेका थिए । त्यो परिवर्तनको भेलले मलाई रोज्यो ।’ सम्झेर ल्याउँदा जनताले नै उनलाई रोजेको हो कि भन्ने लाग्छ ।

कारण अन्य केही नभएर केवल परिवर्तन र रुपान्तरण चाहेका जनता हुन् । जनता पनि नभनौ प्रतिनिधि ह्न् । तर उनलाई चाहाने भने जनता अधिक मात्रामा रहेको देखिन्छ । बूढो सत्तालाई फ्यालेर जवान सोच र उमेरको नेतृत्व चयन गर्नमा राप्रपा सफल भएको देखिन्छ । अब लिङ्देनले चलाएको दल हेर्न बाँकी छ । उनी नेतृत्वमा आउनु एमाले र कांग्रेस प्रतिनिधिका लागि परिवर्तन र रुपान्तरणको झट्का दिइएको थियो जुन सम्भव भएन ।

कुरा गरौँ एमालेको, नेकपा एमाले भने केपी शर्मा ओलीको एकाधिकारजस्तै नै छ । एमाले भन्नु नै केपी ओली हो भन्ने मान्यता राखेका उनका कार्यकर्तालाई भोलिको दिनमा को नेतृत्वमा आउँछ भन्ने कुनै हेक्का रहेको भने छैन ।

आफ्नो दलमा तेस्रो बरियतामा रहेका केपी ओली एमालेको नवौँ महाधिवेशनबाट भने पावरमा आएका हुन् । उनले पार्टीभित्र नै रहेर काम गरे पनि उनी जनतामाझ भने नवौँ महाधिवेशनबाट लोकप्रिय बनेका हुन । जनताले उनको बोली र उनको साहसलाई सलाम नै गरे पनि पछिल्ला दिनमा उनको व्यवहारबाट जनता निरास भएको देखिन्छ ।

नवनिर्वाचित अध्यक्ष ओली झापा विद्रोहकालीन नेतामध्ये एमालेमा रहेका शीर्ष नेता हुन् । एमालेमा उग्रवादी सिद्धान्तलाई हेर्ने दृष्टिकोणमा कडा मानिने ओलीले प्रजातन्त्रिक आन्दोलनका क्रममा डेढ दशक लामो जेल जीवन बिताएका छन् ।

एमालेलाई जबजको मार्गदर्शनका आधारमा समाजको शान्तिपूर्ण रूपान्तरणका पक्षमा क्रियाशील ओलीलाई पार्टीमा सबै पक्ष र विचारका नेतालाई समेटेर लाने चुनौती छ । केही समय अगाडि पार्टीभित्रको अन्तरद्वन्द्वले भने हाल नेकपा एमाले यो पक्ष र त्यो पक्षमा विभाजित भएको थियो । हालको महाधिवेशनले फेरि पनि उनलाई दलको नेतृत्व गर्नको लागि प्रतिनिधिले सभापतिको पद सुम्पिएका छन् । रुपान्तरण र परिवर्तन चाहाने युवा निकै रहेको दलमा भने केपी ओलीबाहेक विकल्प नरहेको नै देखिन पुगेको छ ।

भर्खर आफ्नो महाधिवेशन सकेको अर्को दल हो, नेपाली कांग्रेस । यस दलमा पनि सभापति परिर्वतनको सम्भावना प्रचुर मात्रामा थियो । तर अन्त्यमा राजनीतिको पासा देउवासमक्ष नै पल्टिएको छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील छन् । प्रधानमन्त्री देउवा मङ्गलबार सम्पन्न पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको पुनः मतदानबाट पार्टी सभापतिमा पुनः निर्वाचित भएका हुन् । उनले डा. शेखर कोइरालालाई पराजित गरेका हुन् ।

पुनः मतदानमा निर्वाचनमा सभापति पदका पहिलो चरणका अन्य प्रत्यासी नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको समर्थनसहित देउवा विजयी भएका हुन् । यही मङ्सिर २४ गते महाधिवेशन उद्घाटन समारोहमा उनले आफूलाई पार्टी विधानअनुसार अन्तिम पटकका लागि सभापतिमा विजयी गराउन आह्वान गरेका थिए ।

प्रधानमन्त्री देउवाले आफू पुनः सभापतिमा विजयी भएपछि आगामी तीनै तहका निर्वाचनमा पार्टीलाई विजयी गराएर तीनै तहमा कांग्रेसको सरकार बनाउने उद्घोष गरेका थिए ।

राप्रपालाई छाडेर हर्ने हो भने नेकपा एमाले तथा नेपाली कांग्रेसका सभापति नयाँ होइनन् । उनीहरू त्यही हुन् जे थिए । उनीहरूको कार्यकाल चाखिसेकेका जनताले फेरि उनैलाई स्वीर्कालान् भन्ने प्रश्न छ । तर यसको जवाफ भने आगामी निर्वाचनमा पाइनेछ । तर विकल्प नै नरहेको कारण शेरबहादुर देउवा वा केपी ओली नै सत्तामा जाने सम्भावना प्रचुर रहेको छ । सम्भावनामा केही प्रतिशत भने कांग्रेसकै सरकार बन्ने सम्भावना रहेको छ ।

नेतृत्व चयनमा एमाले र कांग्रेस चुकेको भन्ने एक जमातको गुनासो सामाजिक सञ्जालमा सर्वत्र भेटिन्छ । उनीहरू यस नेतृत्वले चलाएको विगतको सरकारसँग दिक्क रहेका थिए भन्ने कुरा पनि स्पष्ट रहन्छ । तर राप्रपा भने यस्ता प्रश्नको झटारोबाट डाइर्बट भएको छ । नेतृत्व चयनमा राप्रपाले नेकपा एमाले र नेपाली कांग्रेसका प्रतिनिधिहरूलाई गतिलो पाठ सिकाएको भान रहन्छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार १४:५९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।