कोही त्यो ठूलो रूखतिर हँस्याङ–फस्याङ गर्दै गइरहेको देख्छु । हातमा डोरी पनि छ । यो मान्छे हाम्रो ठाउँको होइन । यो पनि बुझेको छु । डोरी किन बोक्यो ? म जवाफ सोच्ने प्रयास गर्छु । यो मान्छे पक्कै मर्न हिँड्यो । जवाफ मलाई आयो । छेउछाउ कोही छैनन । मानवताको नाताले मैले उसलाई बचाउनुपर्छ । स्वतन्त्रताको नाताले मैले उसलाई मर्न दिनुपर्छ । मान्छे मर्न पाउनुपर्छ, यो मेरो मान्यता हो । म उसलाई बचाउन चाहान्न । मैले भने त “मान्छे मर्न पाउनुपर्छ, यो मेरो मान्यता हो ।” तर सबैलाई त्यही कुरा कहाँ लागु हुन्छ ?
मान्छे मर्नुको कारण सबैको लागि एउटै हुँदैन । सबैले एकै कारण बोकेर पनि त आएका हुँदैनन् यो धरतीमा । मलाई इच्छा छ जान्ने, ऊ किन मर्न चाहान्छ ? कि ऊ कसैको लागि मर्न चाहान्छ ? कि ऊ केहीको लागि मर्न चाहान्छ ? कि ऊ आफ्नै लागि मर्न चाहान्छ ? आफ्नै लागि मर्नु ? मलाई अचम्म लाग्छ । म यही सोच्छु । आफ्नै लागि कसरी मर्नु ? अरूको लागि कसरी मर्नु ? र, केहीको लागि किन मर्नु ? संसारमा मर्नुपर्ने कुरा म देख्दिनँ । तर मर्छु भन्नेलाई नरोक्नू ? मान्छेलाई स्वतन्त्रता चाहिन्छ । यदि ऊ मर्दैमा उसले स्वतन्त्रता पाउँछ भने उसलाई मर्नबाट नरोक्नू ।
म रूखतिर जान्छु । गोलो अनुहार, अलि पुरानो कपडा, पसिनाले भिजेको निधार र बाध्यताले भरिएको आँखा । मैले उसलाई धेरै नजिक पुगेपछि यस्तै देखेँ । रूखको तेर्सो हाँगामा डोरी झुन्डाएर ऊ डायरीमा केही लेख्दै थियो । म सरासर ऊ भएतर्फ गएकाले उसले डायरी लुकायो । र डोरी खोल्यो ।
मैले सोधेँ – “भाइ ! के गर्न लाग्यौ ?”
जवाफमा “केही नाइँ ।” बस् । यति ।
डोरी । डायरी । यो देख्दा म निश्चत थिएँ । यो केटा सुसाइडको तयारीमा छ । मैले उसलाई धेरै प्रश्न गरेँ । उसले उत्तर दिएन ।
संसारमा आफ्ना पीर र दुःख कसैले सोधे हजारमा एकजनालाई उत्तरमा सुनाउन सकिन्छ कि हजारमा एकजनालाई दिल खोलेर बताउन सकिन्छ । खैर ! आजकाल मजाक बनाउँछन्, साथीहरू ।
सायद उसले मलाई बताउन चाहेन । किनकि उसले मलाई नजिक कसरी सम्झन सक्छ र एकैछिनको भेटले ! तर कति सम्बन्धहरू छोटो समयमा नै खुब मजबुद हुन्छन् । खैर ! मलाई सम्बन्ध जोगाउन आउँदैन । दुःख लाग्छ ।
उसले केहीकुरा नभन्ने भएपछि मैले भनेँ – “भाइ ! तिमी झुण्डिने हो भने छिटो गर त ! मलाई पनि मर्नु छ । यही रूखमा ।”
ऊ आत्तिन्छ । सोध्छ,
“तपाईँ पनि ? किन मर्ने ? कारण ? केही छैन ? किन बोल्नु हुन्न ? तपाईँ किन मर्ने ?”
ऊ मलाई प्रश्नहरूको बाण हानिरहन्छ । म मौन भएर यही सोच्छु, “मान्छेको मन मिल्नु भनेको यही होला । यसरी नै मिल्छ होला ।”
आफ्ना जस्तै पीडा अरू कसैको देखियो वा सुनियो भने पीडितहरू आफ्नै जस्ता लाग्छन् । ज्यादै नजिकका । तर, आजकाल यहाँ मजाक बनाइदिन्छन् ।
म उसलाई यति मात्र भन्छु, “भाइ ! मर्ने कारण धेरै हुन्छ ।”
म उसलाई सोध्छु– “तिमी किन मर्ने ? अकारण ? कि कारण छ कुनै ?”
ऊ भन्छ– “जन्मनुमा कारण छैन भने मर्नुमा पनि कारण छैन । मैले चाहेजति बाँचेँ । मलाई पुग्यो जिन्दगी । अब म मर्न चाहान्छु ।”
उसले जे बोलिरहेको छ एकदम सही बोलिरहेको छ । मलाई यस्तै लाग्यो । तापनि मलाई सोध्न मन लाग्यो । सोधेँ,
“भाइ ! तिमी यहाँको पनि होइनौ । मर्नलाई भनेर किन यता आयौ ?”
यार दाइ ! मर्न भनेर नै यहाँ आएर आएको हुँ । मेरो घर बहुत टाढा छ । घरमै मर्न सकिनँ । मलाई मनले दिएनँ । दाइ तपाईँ नै भन्नूस् यार ! भण्डार कोठामा मरौँ ? सक्दिनँ । आमा दिनको सातपटक त्यहाँ पुग्नुहुन्छ । मलाई सम्झनु हुँन्छ । हुन त मेरै घरमुन्तिर पनि रूख नभएको होइन तर बा सधैँ घाँस झार्न जाँदा मलाई सम्झिरहनुहुन्छ । दाइ ! मलाई सम्झना भएर मर्न मन छैन । मलाई चाहान्छु, म मरेपछि मलाई कसैले पनि नसम्झियोस् । म थिएँ भन्ने आभास नहोस् ।
पूर्वबाट हावा मन्द आइरहेको छ । ऊ किन मर्न चाहान्छ । मलाई यो कुरा खोज्नु छ । खोज्ने काम बहुत गाह्रो छ । संसार नै खोज हो । यहाँ खोज्नेहरू जति धेरै छन् त्यति नै कम छन् खोजिनेहरू ।
मृत्यु स्वतन्त्र हुनुपर्छ, यदि ऊ जिन्दगीबाट अघाएको छ भने तर उसलाई कुनै अधिकार छैन जिन्दगीबाट भाग्न, समस्याबाट भाग्न । आफैँसँग डराएर मृत्युको काख भर्न । तर यति भन्छु जिन्दगी विद्यालय हो । यहाँ सबै पास हुन्नन् । कतिलाई समयले चिट चोराएर पास गराइदिन्छ त कतिलाई कर्मले ।
जिन्दगी भत्कनु केही नयाँ बन्नु हो । कुनैपनि बनिसकेको संरचनालाई यदि केही हद फेर्नु छ भने त्यो संरचनालाई भत्काउनै पर्छ । जिन्दगी पनि त्यही हो । गल्तीबाट शिक्षा पाइने न हो । धोकाबाट मायाको अर्थ बुझिने न हो । यस्तै यस्तै हो जिन्दगी । कतै के कतै के ।
जीवनमा केही नहुँदा पनि सबैथोक छ जसरी बाँच्नु जीवनको कलात्मक पक्ष हो । यसरी बाँच्न हृदय बहुत ठूलो हुनुपर्छ ।
मान्छे किन मर्छ ?
केका लागि मर्छ ?
कसरी मर्छ ?
यो प्रश्नको जवाफ तपाईँको लागि ।
रूखको छेवैमा अडेस लागेर बसेको भाइलाई मर्नु छ, किन ? मलाई थाहा छैन । तर यो पनि हो मैले उसलाई रोक्नु छैन । किनकि मान्छेलाई मर्न दिनुपर्छ । यो मेरो मान्यता हो ।
उसलाई अन्तिम पटक सोध्न मन छ, “भाइ ! किन मर्दैछौ ?” भनेर । लाग्छ, उसले मलाई ऊ मर्नुको कारण बताउनेवाला छैन । तर पनि मन थामेर नै म उसलाई सोध्दैछु “आखिर मर्न किन चाहान्छौ ?”
कारण बिना कोही मर्दैन । संसारमा जति पनि आत्महत्या भए केही छिनको निर्णयले भए । यदि कोही हातमा डोरी बोकेर जिन्दगी, परिवार, प्रेमिका, साथीभाइ, घरगाउँ सम्झन सुरु गर्छ भने त्यो मान्छेले कहिल्यै पनि आत्महत्या गर्दैन । यो सत्य हो ।
कसैको व्यक्तिगत कुरा सोध्न जो कोहीलाई आँट आउँदैन । तर हिम्मत राखेर नै मैले सोधेँ, “भाइ ! मर्नुको कारण के छ ?”
उसले भन्यो, “दाइ ! संसारमा रहरलाई पर.. राखेर बाँच्न नसकिने रहेछ । दाइ ! मलाई कहिल्यै निको नहुने रोग लाग्यो । चितवन क्यान्सर अस्पतालबाट सिधै यता आएको हुँ । मलाई घर जानु छैन । खर्चले आकाश छुन्छ । अन्त्यमा म रहन्न र रहँदैन मलाई बचाउन खर्चिएको खर्च पनि । दाइ ! म ब्लड क्यान्सरको सिकार भएँ ।”
यति भन्दैगर्दा उसका आँखाबाट झरिरहेका थिए, सत्यताका आँसुहरू ।
उसका कुरा सुनेपछि म केही बोलिनँ । चुपचाप हिँडँे ।
म निकैपर पुगिसकेको थिएँ । आवाज आयो धूमिल भएर । उसैले भन्दै थियो, “दाइ ! यहाँ सुसाइड गर्न मिल्छ ?”





















प्रतिक्रिया