काठमाडौं ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी जग्गा हिनामिना गरेको अभियोगमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल र कांग्रेस नेता एवम् पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ ।
मोरङ जिल्लामा रहेको रिजाल एन्ड कम्पनीको नाममा ६० रोपनी जग्गा छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध मुद्दा पेस गरेको हो ।
उनीहरुविरुद्ध करिब साढे ७३ करोड रुपैयाँ विगो माग दाबी गरिएको छ ।
यो सूचीमा पूर्व भूमि सुधारमन्त्री डम्बर श्रेष्ठ, सवारी दुर्घटनामा त्रिशूली नदीमा बेपत्ता भएका पूर्वमुख्यसचिव माधव घिमिरेकी छोरी कमला घिमिरेको नाम समेत छ ।
यसैगरी पूर्वसचिव छविराज पन्त, पूर्वसहसचिव रमेशचन्द्र अधिकारी, तत्कालीन उपसचिवहरु गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा. अर्जुन खड्का, लक्षमण थापा, ध्रुव सापकोटा र शाखा अधिकृत बलराम निरौलाको नाम समेत आरोप पत्रमा छ ।
भूमि व्यवस्था विभागका डिजी राजेन्द्र शर्मा, निर्देशक नारायण अधिकारी, उपसचिव बाबुराम खनाल, शाखा अधिकृत सिताराम पोखरेल, नासु बुद्धिबहादुर कार्कीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा पेस गरेको छ ।





















प्रतिक्रिया