Logo

कर्पोरेट फोकस

डिजिटल भुक्तानीका थप ४ कम्पनी बजारमा आउँदै



नेपालमा डिजिटल भुक्तानी सेवाप्रदायक थप चार कम्पनी आउने तयारीमा रहेका छन्। नेपाल टेलिकम अन्तर्गतको नेपाल डिजिटल पेमेन्ट कम्पनी, आई क्यास प्रालि, छिटो पैसा प्रालि, बुद्ध लाइट इन्टरनेशनल प्रालि डिजिटल भुक्तानी बजारमा आउन लागेका हुन् ।

यी कम्पनीलाई भुक्तानीसँग सम्बन्धित विद्युतीय कारोबार सञ्चालनका लागि आशयपत्र दिइसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलका अनुसार कम्पनीले साउनमै सैद्धान्तिक सहमति पाप्त गरेका छन् ।

उक्त कम्पनीले कारोबार सञ्चालनका लागि कार्यालय, कर्मचारी, सफ्टवेयर लगायत पूर्वाधारको व्यवस्था गरेपछि सञ्चालनको अन्तिम स्वीकृति दिइने उनले बताए |

भुक्तानी सेवा प्रदायक संस्थाले वालेट मार्फत कारोबार गर्न विद्युतीय रकम जारी गर्न सक्नेछन् ।
डिजिटल भुक्तानी बजारमा उक्त कम्पनीहरूको आगमनपछि उपभोक्ता सेवामा भने चर्को प्रतिस्पर्धा हुने देखिएको छ । यसले डिजिटल कारोबारको दायरा र पहुँच बढाउने अपेक्षा समेत गरिएको छ ।

हाल नेपालमाआईएमई–पे, ई–सेवा फोन पे, सेलकम, सीजी पे, स्प्यारो पे (खल्ती), पे नेप, क्यु पे, नेपाल पे टाइम, स्मार्ट कार्ड नेपाल, मोहर डिजिटल, प्रभु टेक्नोलोजी, ई–नेट पेमेन्ट, फोकसवान पेमेन्ट सोलुसन्स प्रालि, कुराकानी प्रालि लगायत एक दर्जनभन्दा बढी भुक्तानी प्रदायक संस्था सञ्चालनमा छन् ।

प्रकाशित : २१ भाद्र २०७७, आइतबार