आइतबारबाट जारी नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा शुक्रवार १४ वटा समूहले छलफल गरेर उठाएको प्रश्नको जवाफ दिने भनिएको छ ।
काठमाडौको प्रज्ञा भवन कमलादीमा चलिरहेको बन्द सत्रमा बिहिवार समूहका टोली नेताले समूहगत निष्कर्ष र सुझाव दिएका थिए । उनीहरूले उठाएका प्रश्नको जवाफ आज शुक्रवार अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दिने माओवादी केन्द्रले जनाएको छ ।
अध्यक्ष प्रचण्डले जवाफ दिइसकेपछि प्रतिवेदन पारित गरेर नेतृत्व छनोटको प्रक्रिया सुरु हुने भनिएको छ । बिहिवार नै नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने तयारी भए पनि अध्यक्ष प्रचण्डले जवाफ दिनका लागि समय मागेपछि नेतृत्व चयन प्रक्रिया पनि आज नै सुरू हुने भएको हो ।
पार्टीका प्रभावशाली नेता राम कार्कीले प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि फरक मत प्रस्तुत गर्ने क्रममा संघीयता र समावेशिताबारे भइरहेको अभ्यासमाथि प्रश्न उठाएका छन् । संघीयता र समावेशिता सोचे अनुरुप अघि बढ्न नसकेको कार्कीको फरक मतमा उल्लेख छ । उनले आफ्नो फरक मतको महाधिवेशनमा छलफल हुन पर्ने माग राखेका थिए ।
कार्कीले समावेशिताको अभ्यास पनि उदेश्य अनुरुप नभएको भन्दै अहिलेको अभ्यासलाई उनले ‘चटके राजनीति’ को संज्ञा दिएका छन् ।
प्रचण्डको प्रतिवेदनमाथि ‘केही पूरक र केही नवीन धारणाहरू’ शीर्षकमा फरक मत प्रस्तुत गर्दै कार्कीले अन्तर्राष्ट्रिय परिस्थिति, घरेलु परिस्थिति र पार्टीका आगामी कार्यभारहरुबारे चर्चा गरेका छन् ।
त्यसैगरी पार्टीका अर्का नेता लेखनाथ न्यौपानेले पनि फरक मत राखेका छन् । महाधिवेशनको बन्दसत्रमा बिहिवार नै उनले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि फरक मत राखेका हुन् । उनले बन्दसत्रको समूहगत छलफलका क्रममा प्रचण्डको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ अपूर्ण रहेको भन्दै ८ बुँदे फरक मत राखेका थिए ।
महाधिवेशनमा सहभागी भएका अन्य नेताहरू पनि व्यक्तिगत रुपमा सुझाबहरू दिएका छन् । प्रचण्डले आज कस्तो जबाफ फर्काउँछन् भन्ने प्रतिक्षा माओवादी नेताहरूले गरेका छन् । शुक्रबार १ बजेबाट जवाफ फर्काउने कार्यक्रम सुरू हुने तय गरिएको छ ।
माओवादी केन्द्रले झण्डै एक दशकमा गरेको महाधिवेशन पनि झन्झटिलो तरिकाले भैरहेको छ । शीर्ष पार्टीहरूको महाधिवेशन नै सकिनसकी गरेको जस्तो भएको छ । पार्टीको महाधिवेशन व्यवस्थित तरिकाले गर्न नसक्नेले देश कसरी चलाउँछ ? भन्ने प्रश्न उठेको छ । स्थानीय तहदेखी नै राष्ट्रिय सम्मेलन र महाधिवेशनमा अलमल पर्दै माओवादीले अन्तिममा आएर महाधिवेशनको नाम दियो । यसले सम्मेलन र महाधिवेशन उस्तै हो भन्ने माओवादीले देखाएको छ ।
सर्वहारा वर्गको समस्या समाधानलाई मुल उदेश्य बनाएको माओवादीले शन्ती सम्झौतामा आएदेखि नै सत्ताको प्रलोभनमा आफ्नो उदेश्य र कार्यदिशा सबै भुलेको थियो । यो महाधिवेशनपछि माओवादीले राष्ट्रिय रानीतिमा कस्तो भुमिका खेल्छ त्यो भने हेर्न बाँकी नै छ । सत्तालाई आफ्नो वरीपरी घुमाइरहने प्रचण्डको पार्टीमा विकल्प देखिएको छैन । के महाधिवेशनपछि प्रचण्डको विचार पनि बदलिन्छ ? सबै नेपाली जनताको मनमा यो प्रश्न उठेको छ ।





















प्रतिक्रिया