Logo

प्रमुख समाचार

खोप नपाएका जनताले सार्वजनिक सेवा पनि नपाउने !



नेपालमा एक साता अघिसम्म ३ प्रतिशतमा रहेको कोरोना अहिले बढेर १३ को हाराहारीमा पुगेको छ । बढ्दो संक्रमणलाई ध्यानमा राख्दै सरकारले सार्वजनिकस्थल प्रवेशका लागि कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्न सिफारिस गरेको छ।

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, रंगशाला, हवाइजहाज, पार्कलगायतका सार्वजनिकस्थल प्रवेशमा खोप लगाएको कार्ड अनिवार्य गरेको हो।

सरकारका कतिपय निर्णयहरु प्रभावकारी भए पनि कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गर्ने निर्णय व्यवहारिक नभएको बताउन थालिएको छ । सीसीएमसीले खोप लगाएकालाई मात्रै सार्वजनिक सेवा दिन सरकारी निकायहरूलाई सिफारिस गर्दैगर्दा खोप नलगाएकाहरु ठूलो संख्यामा सार्वजनिक सेवा लिनबाट बन्चित हुने पक्का छ।

कुल जनसंख्याको आधाले पनि खोप नलगाएको अवस्थामा यस्तो निर्णयले जनतालाई नै अप्ठयारो पारेको छ । लक्षित वर्गमा कोरोना विरुद्धको खोप नपुगिरहेको अवस्थामा सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गर्दा अव्यवहारिक देखिन्छ । खोप कार्ड अनिवार्य गर्नु अघि गाउँगाउँमा खोप अभियान तिब्र पार्नुपर्ने विज्ञहरुको सुझाव छ ।

खोपको साटो तत्कालका लागि माक्स लगाउन अनिवार्य गर्नुपर्ने,परिक्षणको दायरा बढाउनु पर्ने, भीडभाड नियन्त्रण गर्नुपर्ने र सीमा नाकाहरुमा कढाई गर्नुपर्नेमा विज्ञहरुको जोड छ। भारत संक्रमणको तेस्रो लहरमा प्रवेश गर्दैगर्दा यसको प्रभाव नेपालमा देखिएको हो । संक्रमण फैलिन नदिन खोप स्टकमा राख्ने होइन खोप अभियानलाई तीव्रता दिनु उपयुक्त हुने विज्ञहरू बताउँछन् ।

दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन भाइरस युरोप हुँदै अहिले छिमेकी मुलुक भारतमा नराम्रोसँग फैलिएको छ। भारतमा बढेको संक्रमण खुल्ला सीमाना कारण नेपालमा पनि निरन्तर बढ्दै गएको हो ।

अहिलेसम्म ३७ प्रतिशतले मात्र कोरोना खोप लगाएका छन् । ठूलो हिस्सा अझै खोपबाट बञ्चित छन् । खोप अभियान प्रभावकारी रुपमा बढ्न नसक्दा डर लाग्दो स्थितिको सामना गर्नुपर्ने स्थिति देखा परेको छ । युरोपमा ओमिक्रोन फैलिँदै गर्दा नेपालमा भने राजनीतिक दलहरुले कार्यकर्तालाई भेला गराएर अधिवेशन र महाधिवेशन गरे । एमाले, काग्रेस, माओवादी र राप्रपाको महाधिवेशन भर्खरै सकिएको छ। यी नै दलहरुका कार्यक्रममा धेरै जसो नेता तथा कार्यक्रर्ताले माक्सको प्रयोग गरेको समेत देखिएन ।

अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेतालाई कारोना संक्रमण भएको छ । त्यसैले अहिले उनीहरु आइसोलेशनमा बसेका छन् । टाउको गनिन भेला र महाधिवेशनमा आएका जनताहरु फर्केर गाउँगाउँ पुगेका छन् । नेताहरुलाइ संक्रमण हुँदा उनीहरुलाई पनि नहोला भन्न सकिदैन । तसर्थ सरकारले खोप अभियानलाई तिब्रता दिनुका साथै कोरोना परिक्षणको दायरालाई पनि बढाउनुपर्छ ।

विश्व स्वास्थ्य संगठनले संक्रमणको दर कम गर्नका लागि कुल जनसंख्याको ७५ देखि ८० प्रतिशतले पूर्ण मात्रा खोप लगाउनु पर्ने हो तर नेपालमा यसका लागि अझै लामो समय कुर्नुपर्ने देखिन्छ । खोप अभियान संचालन भएको एक वर्ष पुग्नै लाग्दासमेत कुल जनसंख्याको ३७ प्रतिशले मात्रै पूर्ण मात्रा खोप लगाएका छन्।

सरकारले गएको माघ १४ गतेबाट देशव्यपी रुपमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरू गरिएको थियो ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार १९:५४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।