काठमाडाैं । दशै सकियो,तिहार आउन बाँकी छ । तै पनि देशमा एउटा पर्व चलिरहेको छ । उत्सवमय । रोचक । रोमाञ्चक । त्यो पर्व हो नेपाल प्रिमियर लिग एनपीएलको । यो पर्व शुरु भएको तीन बर्ष भयो । बर्षेनी नयाँ नयाँ उपलब्धि हासिल गर्दै अघि बढेको यो पर्व यसबर्ष झनै रोमाञ्चक बनेको छ । अझ समय परेको छ त्यस्तै । दर्शै र तिहारको बिचको ।
आईसीसीको मान्यताले अन्तराष्ट्रिय रूपमा थप चर्चा दिलाएको एनपीएलमा यसै बर्ष डीआरएस प्रणाली पनि भित्रिएको छ । यस्तै, डेभिड मिलर, डेभिड वार्नर, आन्द्रे रसेल, मोइन अली, एन्जेलो मेथ्युज, सकिब अल हसनजस्ता विश्व क्रिकेटका हस्तीहरू आएका छन् ।
अर्कोतिर ८ टोली, विराटनगर, जनकपुर, काठमान्डु, चितवन, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमले सम्बन्धित क्षेत्रको न्यानो स्वागत पाएका छन् । विराटनगर सिंगो कोशी प्रदेशको, जनकपुर मधेश प्रदेशको, काठमाडौँ राजधानी काठमाडौँ र बागमती प्रदेशको, चितवन बागमती प्रदेशको, लुम्बिनी लुम्बिनी प्रदेशको कर्णाली कर्णाली प्रदेशको र सुदूरपश्चिम सुदूरपश्चिम प्रदेशको प्रतिष्ठाको टोली बनेका छन् । एकाितर भौगोलिक रुपमा टिमलाई माया गर्ने, हौस्याउने क्रम चलिरहेको छ भने अर्कोतिर आफुलाई मन पर्ने खेलाडीहरुका कारण पनि टीम रोजाईमा परेका छन् ।
अर्काे रोचक पक्ष, कुनै पनि टोलीका घरेलु खेलाडी ती भुगोलका मात्र छैनन् । कोशकिा ललित राजबंशी जनकपुरबाट खेलिरहेका छन भने लुम्बिनीका प्रतिस जीसी विराटनगर किंग्समा छन् । विराटनगरका त कप्तान सन्दीप लामिछाने नै चितवनका हुन् । यस्तै मधेशका गुल्सन झा, नन्दन यादव, पवन सर्राफ कर्णालीबाट खेलिरहेका छन् ।
सुदूरपश्चिमका भीम सार्की काठमाडौँमा आवद्ध छन् भने मधेशका आदिल आलम, साहब आलम लगायत पनि काठमाडौँमा छन् । सुदूरपश्चिमका आदित्य महता जनकपुरमा छन् भने मधेसका आरिफ शेख सुदूरपश्चिम र उनका भाइ आसिफ शेख कर्णाली याक्समा आवद्ध छन् ।
यस्तै, प्रतियोगितामा समर्थकहरु आ आफ्नो टोलीको जर्सिका साथै स्थानीय पहिरन पनि प्रस्तुत गरिरहेका भेटिन्छन् । मधेशको टोलीका समर्थक टाउकोमा फेटा बाँधेर टोलीलाई जोस्याइरहेका हुन्छन् भने सुदूरपश्चिमका समर्थक देउडा खेलेर त स्थानीय लवज बोलेर टोलीलाई जोस्याइरहेका हुन्छन् । उनीहरु आफ्नो टोलीको जित हारमा रमाइला टिप्पणी र हल्का ब्यंग्यबाण पनि हानिरहेका हुन्छन् ।
युसरी एनपीएल एकातिर आफ्नो टोलीलाई जिताउने प्रतिस्पर्धामा छ भने अर्कोतिर यसले सिंगो देशलाई जोडिरहेको छ ।
देशलाई मात्र होइन विश्वक्रिकेटलाई नै जोडिरहेको छ । विश्व क्रिकेटका हस्तीहरुको एनपीएल अनुभवले भावी दिनमा एनर्पीएलाई विश्वब्यापी बनाउन अझ मद्दत गर्ने आशा गर्न सकिन्छ ।





















प्रतिक्रिया