Logo

प्रमुख समाचार

जोखिम बढेकाले सबैमा खोपको पहुँच पुर्याउन कार्ड अनिवार्य



डोटी । डोटीमा केही दिन यतादेखि कोभिड–१९ का सङक्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । एकै हप्तामा जिल्लामा ३३ नयाँ सङक्रमित फेला परेका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले कोरोना विरुद्धको खोप अनिर्वाय गरे पनि अधिकांशले उक्त खोप नलगाएको भन्दै नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन स्थानीय प्रशासनले सबैमा आग्रह गरेको छ ।

सङ्क्रमण बढ्दै गएकाले जिल्लाका सरकारी कार्यालयको सेवा प्राप्त गर्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य साथमा राख्नुपर्ने भएको छ। गृहमन्त्रालयको निर्देशनअनुसार यही माघ ७ गतेदेखि सरकारी कार्यालयमा सेवा लिनका लागि पुग्ने नागरिकले अनिवार्य रुपमा खोपको पूर्ण मात्रा लगाएको कार्ड साथमा राख्नुपर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए।

छिमेकी मुलुक भारतबाट घर फर्किएका नागरिकको सङ्ख्या बढेसँगै जिल्लामा कोरोना सङ्क्रमणको जोखिम पनि एकाएक बढेको प्रजिअ विष्टको भनाइ छ ।

यस्तै जिल्लका नौवटै स्थानीय तहमा आइसोलेशन कक्षको व्यवस्था गर्न जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले आग्रह गरेको छ । भारतबाट घर फर्किरहेका नागरिक कोरोना जाँच नै नगरी सिधै गाउँ जाने गरेका कारण यहाँका सहरबजारभन्दा पनि गाउँमा कोरोनाको जोखिम बढ्ने देखिएको केआइसिंह गाउँपालिकाका तिलकबहादुुर रावलले बताए ।

जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रहरी प्रशासनले निगरानी गरिरहे पनि खासै फलदायी हुननसकेको स्थानीयवासीको आरोप छ ।
प्रहरी प्रशासनले घर बाहिर वा सार्वजनिकस्थलमा जाँदा र सार्वजनिक यातायातका साधन प्रयोग गर्दा मास्कको प्रयोग अनिवार्य गर्न लगाउनाका साथै भौतिक दूरी कायमलगायत स्वास्थ्यसुरक्षाको मापदण्ड पूर्णपालना गर्न आह्वान गरेपनि यहाँका नागरिकले त्यसको पालना नै गरेको देखिन्न ।
प्रहरीले दिनहुँ मास्क बाँडिरहेको छ तर प्रयोग कसैले नगर्ने गरेका कारण कोरोनाबाट बच्न सावधानी कसैले नअपनाएकाले जिल्लामा कोरोनाको जोखिम बढेको दिपायल सिलगढी नगरपालिका–४ का मदन बोगटीले बताए ।

जिल्लामा पछिल्लो एक हप्ता यतादेखि तीव्ररुपमा कोरोनाको सङ्क्रमण फैलिँदै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार एकहप्ताको अवधिमा जिल्लामा ३३ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको हो । भारतबाट फर्किएका नागरिकमा कोरोना सङ्क्रमण बढी देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी अमरसिंह भाटले बताए । अहिले दैनिकरुपमा कोरोना सङ्क्रिमतको सङ्ख्या बढ्दै गएको र हालसम्म सबैभन्दा बढी आदर्श गाउँपालिकामा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उनले बताए ।

यसैगरी दिपायल सिलगढी नगरपालिकामा १०, पूर्वीचौकी गाउँपालिकामा चार, जोरायल गाउँपालिकामा दुई, सायल गाउँपालिकामा दुई तथा बोगटान फुड्सिल गाउँपालिकामा चार जनामा सङ्क्रमण पुष्टि भएको छ ।

एक सातामा २४४ जनाको एन्टिजेन र आठ जनाको आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले कडाइ गरेपनि त्यसको खासै असर नभएका कारण र नागरिकले सचेतना नअपनाएकाले कोरोना जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीहरूले बताए ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार १४:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।