ओमिक्रोन भेरिअन्ट विश्वभर तीव्र गतिमा फैलिएपछि विभिन्न देशहरूले महामारी नियन्त्रणसम्बन्धी रणनीति परिवर्तन गरेका छन् । खोपबाट बन्ने प्रतिरोधी क्षमता छल्न सक्ने र एक पटक कोभिड भइसकेका व्यक्तिलाई पनि पुनः सङ्क्रमण गराउन सक्ने क्षमता भएको ओमिक्रोन अन्य भेरिअन्टहरूभन्दा सङ्क्रामक छ ।
सङ्क्रमणको सङ्ख्यामा वृद्धि भए पनि ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमितहरू अस्पताल भर्ना हुने सम्भावना भने नाटकीय रूपमा कम देखिएको छ । दुई मात्राको खोप लगाएका र बूस्टर मात्रा खोप लगाएका व्यक्तिहरूमा यो सङ्क्रमण भए पनि अस्पताल भर्ना हुने सम्भावना कम रहेको प्रमाण छन् । यसले अमेरिका र युकेसहित धेरै देशहरूलाई सङ्क्रमितहरू एकान्तवास बस्ने समय छोट्याएर पाँच दिन राख्न प्रेरित गरेको छ ।
यसले मानिसहरू सङ्क्रमित भएपछि काममा वा विद्यालयमा बिदा बस्दा हुने समस्या कम गर्ने बताइएको छ । तर विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले ओमिक्रोनसँग निर्धक्क नहुन चेतावनी दिएको छ । उसले खोप नलगाएका मानिसहरूमा यो भेरिअन्ट अझै पनि घातक रहेको बताएको छ । त्यसो भए एकान्तवासको अवधि घटाउने निर्देशिका केमा आधारित छ ? हामीलाई नयाँ भेरिअन्ट फैलिने तरिकाबारे के थाहा छ ?
कति दिनमा लक्षण देखिन्छ ?
ओमिक्रोन भेरिअन्टबारे कमै मात्र अध्ययन भए पनि अनुसन्धानले यो भेरिअन्ट अन्यको तुलनामा कमजोर मात्रै देखाएको छैन, भाइरस सरिसकेपछि लक्षण देखा पर्न लाग्ने अवधि पनि कम देखिएको छ । यसअघिका कोरोनाभाइरसका भेरिअन्टहरूबाट सङ्क्रमण सरिसकेपछि लक्षण देखा पर्न पाँचदेखि छ दिनसम्म लाग्ने गरेको थियो । डेल्टा भेरिअन्टको हकमा चार दिनमा लक्षण देखा पर्थ्यो । ओमिक्रोनबाट सङ्क्रमण भएको अवस्था दुईदेखि तीन दिनभित्र लक्षणहरू देखा पर्ने गरेका छन् ।
गत डिसेम्बरमा अमेरिकामा प्रकाशित प्रारम्भिक अध्ययनमा ओमिक्रोनको औसत सङ्क्रमण अवधि तीन दिन देखिएको थियो । सङ्क्रमितसँगको सम्पर्कमा पुगेको व्यक्तिमा एक दिनमै शरीरमा भाइरसहरू बढ्न सुरु हुने स्पेनको इन्टर्न्याश्नल युनिभर्सिटी अफ ला रियोजाका सङ्क्रामक रोग विशेषज्ञ डा. भिसेन्ट सोरियानोले बताए । दुई दिनभित्र गरिएको परीक्षणमा भाइरस देखिन थाल्छ ।
कति दिनसम्म अरूलाई सर्छ ?
वैज्ञानिकहरूले सङ्क्रमित व्यक्तिहरूले सङ्क्रमणका सुरुवाती दिनहरूमा बढी सङ्क्रमण फैलाउन सक्ने पत्ता लगाइसकेका छन् । ओमिक्रोनको हकमा लक्षण देखिनुभन्दा एक वा दुई दिनअघि र लक्षण देखिएको दुईदेखि तीन दिनसम्म यो भाइरस अरूलाई सर्न सक्ने ठानिएको छ । डा सोरियानो भन्छन्, “यो भाइरस पाँच दिनसम्म मात्रै सङ्क्रामक हुन्छ । यसको अर्थ परीक्षणमा पुष्टि भएको तीनदेखि पाँच दिनसम्म मात्रै यसमा अरूलाई सर्न सक्ने क्षमता रहन्छ ।”
उनका अनुसार ओमिक्रोन शरीरमा सात दिनसम्म रहने देखिएको छ । यसको अर्थ लक्षण देखिएको सात दिनपछि लक्षण छैन भने अधिकांश यस्ता व्यक्तिहरूले अरूलाई सङ्क्रमण फैलाउन सक्दैनन् । “तर यो चिकित्सा हो, गणित होइन, त्यसैले यसमा त्यसैले केही तलमाथि हुनसक्छ,” डा. सोरियानो भन्छन् । “केही मानिसहरूमा तीनदेखि चार दिन मात्रै र केहीमा सात दिनसम्म भाइरस रहन सक्छ । ओमिक्रोनमा के चाहिँ निश्चित हो भने यसको सङ्क्रमण यसअघिका भेरिअन्टहरूभन्दा निकै तीव्र फैलिन्छ ।” यसमा कुनै व्यक्ति अझै सङ्क्रामक छ वा छैन भनेर ढुक्क हुनका लागि छिटो नतिजा देखाउने एन्टिजन परीक्षण गरिनु सबैभन्दा उत्तम हुने विज्ञहरूको सुझाव छ ।
“यस्तो परीक्षण सस्तो पनि छ र कुनै व्यक्ति सङ्क्रामक छ वा छैन थाहा पनि दिन्छ,” उनी भन्छन् । लक्षण सहितको सङ्क्रमण भएका व्यक्तिसँग कति दिनपछि भेट्न मिल्छ ?
अमेरिकाको सेन्टर फर डीजीज कन्ट्रोल एन्ड प्रीभेन्सन सीडीसीले कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूलाई पाँच दिनको एकान्तवासपछि अरूसँग घुलमिल हुन मिल्ने निर्देशिका प्रकाशित गरेको छ ।
तर यसमा सर्तहरू छन् ।
सीडीसीका अनुसार तपाईँ सङ्क्रमित हुनुभयो भनेः
यदि लक्षण छ भने पाँच दिन अलग्गै बस्नुहोस् । पाँच दिनको गणनाका लागि परीक्षण गरिएको दिनलाई शून्य दिन मान्नुपर्छ ।
पाँच दिनपछि कुनै लक्षण छैन वा सुधार हुँदै छ भने एकान्तवास अन्त्य गर्दा हुन्छ ।
अन्य मानिसहरूसँग भेट्दा थप पाँच दिन मास्कको प्रयोग गर्नु पर्छ ।
लक्षण देखिएको पहिलो दिनबाट १० दिनसम्म सकेसम्म यात्रामा ननिस्कनुहोस् ।
ज्वरो छ भने ज्वरो रहँदासम्म अलग्गै बस्नु पर्छ ।
लक्षण नभए कति दिन सङ्क्रामक ?
कोभिड भएका धेरै मानिसहरूमा सङ्क्रमण भएको अवधिभर लक्षण नदेखिएको अनुभव पनि छ । डा. सोरियानोका अनुसार उनीहरूले पनि लक्षण भएका व्यक्तिहरू जति नै आफूमा सङ्क्रमण रहिरहेको बुझ्नुपर्छ ।
“लक्षणविनाको सङ्क्रमणबारे अझै धेरै कुराहरू खुल्न बाँकी छ । तर सङ्क्रमण रहिरहने अवधि चाहिँ लक्षण भएका व्यक्तिहरूसँग समान नै हुन्छ,” सोरियानोले भने ।
“बालबालिकाहरूमा धेरैजसो लक्षण देखिँदैन । लक्षण नभए पनि लक्षण भएका वयस्कहरूको जति नै उनीहरूमा पनि भाइरल रहेको अध्ययनहरूले देखाएका छन् ।”
लक्षण नभएको व्यक्तिले अरूलाई सार्न सक्छ ?
अध्ययनहरूले कोभिडबाट सङ्क्रमित भएका व्यक्तिहरूमा लक्षण नदेखिए पनि अरूलाई सङ्क्रमण सार्न सक्ने देखाएका छन् । उनीहरू छुट्टै पनि नबस्ने र अन्य सावधानीहरू पनि नअपनाउने सम्भावनाका कारण उनीहरूले अरूलाई सङ्क्रमण सार्न सक्ने थप जोखिम हुने गर्छ ।
अमेरिकामा प्रकाशित अनुसन्धानले हरेक चारमा एउटा सङ्क्रमण लक्षण नभएका मानिसबाट हुने देखाएको छ । यसअघिका भेरिअन्टको तुलनामा ओमिक्रोन भेरिअन्टमा लक्षण नभएकाबाट अझै बढी सङ्क्रमण फैलिन सक्ने ठानिएको छ । अधिकारीहरूले अरूलाई थाहै नपाई सङ्क्रमण सर्नबाट जोगाउन कोठाभित्र बस्दा मास्कको प्रयोग गर्न सिफारिस गरेका छन् ।
















प्रतिक्रिया