Logo

साहित्य

चिरविरे स्याल र ढोल



एउटा स्याल थियो । जंगलबासी सबै त्यस स्याललाई चिरबिरे भन्थे । चिरबिरे निक्कै चन्चल र चलाख पनि थियो । एकदिनको कुरा हो चिरबिरे निक्कै मोटाएको थियो । उ खानेकुराको जोहोका लागि एक्लै घुमिरहेको थियो । घुम्दै जाँदा उ जंगल छेउको एउटा सानो चौरमा पुग्यो । त्यहाँ कसैले एउटा ढोल छोडेको थियो । त्यहाँ वरपर बेलका बुट्यान थिए । हल्लिएका हाँगाहरुले लागेर ढोलबाट एक किसिमको आवाज निस्किरहेको थियो ।

कहिल्यै नसुनेको नौलो आवाज सुनेर चिरबिरे झस्कियो । ‘खतरा छ है चिरबिरे ! एकपटक हेर्ने कोशिस त गर, जन्तु कस्तो छ ? आवाज चर्को हुँदैमा जन्तु बलियो नै हुनुपर्छ भन्ने छैन् । निर्धो पनि त हुनसक्छ ।’ उसको अर्को मनले भन्यो– ‘एक्कासी थर्कमान भएर भाग्नु ठीक छैन् । पहिले त यो आवाजवाला जन्तु कत्रो छ, कस्तो छ पत्ता लगाउनु पर्छ ।’ मनको आवाज सुनेर चिरबिरे फर्कियो र जताबाट आवाज आएको थियो, त्यतैतिर चाल मारेर लुसुक्क अगाडि बढ्यो । नजिकै पुगेपछि ढोल देख्यो । रुखका हाँगाले हिर्काउँदा त्यसबाट आवाज आएको पनि थाहा पायो ।

चिरबिरे आपैंmले पनि हातले हिर्कायो । ढोल अरु घन्केर बज्यो । चिरबिरेले सोच्यो– ‘जन्तु सोझो सिधा जस्तो छ । यसको ज्यान पनि  ठूलो  छ । मासु मासुको डल्लो हेर्दै खाउँ खाउँ लाग्ने । यसलाई खाँदा महिनाभरिकै भोक मेटिन्छ । यसको त बोसो र रगत पनि धेरै होला ।’ यसरी सोचेर चिरबिरेले ढोलको छालामा दाँत गाड्यो । छाला चाम्रो थियो । दाँत पटक्कै गडेन । चिरबिरेले पुच्छरदेखिको बल लगाएर दाँत गाड्न खोज्यो ।

अहँ टसमस भएन । बरु चिबिरेको एउटा दाँत नै भाँचियो । उसलाई हुनसम्मको पीडा भयो । रगतको धारो छुट्यो । तर दाँत गाड्ने प्रयास छोड्दै छोडेन् । आखिर उ ढोलमा प्वाल पार्न सफल भयो । छिट्छिटो प्वाल बढाएर थुतुनो छिरायो । भित्र केही भेटिएन् । ‘ए के हो यो ? कता छ रगत, मासु र बोसो ?’ भन्दै प्वाल अझ ठूलो पारेर मुन्टो नै ढोलकभित्र छिरायो । चारैतिर नजर डुलायो । ढोलभित्र के हुनु ? पुरै खाली थियो । चिरबिरे निरास भयो । निरास भएपनि उसले एउटा सत्य थाहा पायो– बाहिर त्यति चर्को आवाज निकाल्ने ढोल भित्र पुरै खाली हुने रहेछ ।

एक बुद्धिको करामत

एउटा तलाउ थियो । त्यहाँ दुईटा माछा थिए । माछा त धेरै थिए । ती दुईटा माछा चाहिँ ठूला र नामुद पनि थिए । माछा समुदायमा तिनीहरुको ठूलो इज्जत अनि प्रतिष्ठा थियो । ती मध्ये एउटासंग सय बुद्धि थियो । त्यसको नाम पनि सत्बुद्धि थियो । अर्कासंग हजारवटा बुद्धि थियो । त्यसलाई नाम अनुसार सहस्र बुद्धि भनेर बोलाइन्थ्यो । त्यही तलाउमा एउटा नामुद भ्यागुतो पनि थियो । पहेँलो भुँडी, सेतो आङ र कालो टाउको भएको त्यो भ्यागुतो निक्कै खिरिलो देखिन्थ्यो । त्यो भ्यागुतोसंग भने एउटा मात्र बुद्धि थियो । नाम पनि एकबुद्धि नै थियो ।

भ्यागुतोलाई आफ्नो बुद्धिको घमण्ड थिएन् । ऊ जससंग पनि नम्र भएर कुरा गथ्र्यो । सतबुद्धि र सहस्रबुद्धिलाई भने आफ्नो बुद्धि र चुतु¥याईंमाथि ठूलो घमण्ड थियो । एकदिन साँझ यी तीनैजना तलाउको किनारमा जुटेर कुरा गर्दै थिए । अलिपर पेटीमा कुरा गर्दै हिँडेका मछुवाहरु देखिए । मछुवाहरु माछा, भ्यागुता कुरा गरिरहेकै ठाउँतिर आइरहेका थिए । तिनीहरुको हातमा जाल र काँधमा माछा भरिएको थैलो थियो । थैलाभित्र माछा छट्पटाइरहेका थिए । थैलाहरु हल्लिरहेका थिए । तलाउतिर हेर्दै मछुवाहरुले कुरा गरे– ‘यस तलाउमा पनि माछा धेरै नै भेटिएला जस्तो छ । तलाउ त्यति गहिरो पनि छैन् । भोलि हामी यहीँ आएर माछा मारौं हुन्न ?’ सबै मछुवाहरुले माछा मार्ने सहमति गरे । भोलि यहाँ आउने निर्णय गर्दै मछुवारेहरु बाटो लागे । मछुवारेका कुरा तलाउका धेरै माछाले सुने ।

एक घण्टा पनि नवित्दै तलाउका माछाहरुको सभा भयो । अब के गर्ने ? कहाँ जाने ? माछाहरु भुटभुटिएका थिए । पिरोलिएका थिए । माछाहरु पिरोलिएको खिसी गर्दै सहस्रबुद्धिले भन्यो– ‘धत् यसरी पनि डराउने हो ? कसैले कुरा गर्दैमा, इच्छा प्रकट गर्दैमा पूरा हुन्छ भन्ने छ ? सबै बदमासहरुको इच्छा पूरा हुने भए यो संसार दुई दिन पनि अडिने थिएन् । मछुवाहरुले एउटा लहडमा कुरा गरे, गए । कुरा सुनेकै भरमा डराउनु भनेको कायरता हो । पहिलो कुरा त तिनीहरु माछा मार्न आउँदैनन् । यदि आए नै भने पनि हामी हाम्रो जुक्ति बुद्धिले काम लिउँला ।

जसरी भएपनि सवैलाई जोगाउने जिम्मा मेरो भो । यति भनेपछि त भएन ?’ सतबुद्धिले पनि सहस्रबुद्धिको समर्थन गर्दै भन्यो– ‘बुद्धिमानका लागि यस्तो समस्या खास समस्या नै होइन । बुद्धि भनेको त्यस्तो सियो हो, जसले जहाँ पनि प्वाल पार्न र बाटो बनाउन सक्छ । जे पनि सिउन र जोड्न सक्छ । जहाँ हावा र प्रकाश पुग्न सक्दैन, त्यहाँ बुद्धिमानको बुद्धि पुग्नसक्छ । बुद्धिमानका निम्ति संसारमा असम्भव काम कुरा केही छैन् । ती मुर्ख मछुवाहरुसंग हामी नडराऔं । तिनीहरुसंग डराएर आफ्नो तलाउ नछोडौं । जुक्ति, बुद्धि लगाएर समस्याको निदान खोजौं ।’

तलाउका सबै माछा एक चित्तले पानीमा टक्क अडिएर संवाद सुनिरहेका थिए । सबैले सोचे– बुद्धिको कुरा हो । यत्रायत्राले भनेपछि धर्मराउनुपर्ने कुनै कारण नै छैन् । सबै माछाहरु ढुक्क हुने मुडमा थिए । एकबुद्धि भ्यागुतोले मुख अलि माथि उठाएर ट्यार्र गर्दै भन्यो– ‘मेरो कुरा त बेग्लै छ साथी हो ! मसंग सय, हजारवटा बुद्धि त छैन् । एउटा बुद्धि छ । मेरो बुद्धिले यहाँबाट अहिल्यै भाग्ने सल्लाह दिन्छ । भोलि विहान नहुँदासम्म त हामीले भागिसक्नु पर्छ । तपाईंहरु विचार गर्नुस् । हामी दुईजना चाहिँ हिँड्यौं । ल हिँड बुढी ।’ यति भनेर एकबुद्धि बुढीसंगै अर्को तलाउतिर लाग्यो ।

अर्को दिन हिजोको टुंगो अनुसार मछुवाहरु तलाउमा आए । चारैतिरबाट परिबन्द मिलाएर तलाउमा जाल पिंmजाए । माछाहरु जालमा पर्दै गए । माछाहरु सत्बुद्धि र सहस्रबुद्धिको भर परेर बसेका थिए । जालमा पर्न थालेपछि माछाहरु कराए– ‘लौन, अब के गर्ने ?’ सहस्रबुद्धि र सतबुद्धि अरुको वास्ता छाडेर आफ्नो ज्यान बचाउनेतिर लागे । दायाँ, बायाँ तलमाथि लुकेर आफू बच्ने उपाय खोजे । मछुवाहरु पनि कम्ति खग्गू थिएनन् । ती दुई तलाउका सवैभन्दा ठूला माछा छोड्ने कुरै थिएन् । तिनीहरुले छानी छानी सबै माछा जालमा हालेर सिध्याए । सहस्रबुद्धि धेरै ठूलोमा माछा थियो । त्यसलाई एउटा मछुवाले काँधमा बोक्यो । सत्बुद्धि अलि सानो थियो अर्कोले हातमा झुण्ड्यायो ।

बाँकी मछुवाले काँध काँधमा बोरामा माछा भरेर बोके । मछुवाहरु घर फर्किएको अर्को तलाउको भ्यागुतोले देख्यो । भ्यागुतीलाई बोलाएर त्यो दृश्य देखाउँदै उसले भन्यो– ‘हेर बुढी, सहस्रबुद्धि मछुवाको काँधमा बोकिन पुग्या छ, सतबुद्धि हातमा झुण्डिन पुग्या छ । तिनका भर पर्नेहरु बोरामा कोचिन पुग्या छन् ।

म त एकबुद्धि ! यही बुद्धिले गर्दा अहिले हामी यहाँ हाँसखेल गर्दै रमाइलोसित बसिरहेका छौं । यसैले म भन्छु, दशथरिको ज्ञानभन्दा पनि मौकामा काम लाग्ने बुद्धि ठूलो हो । समय परिस्थिति बुझेर ठीक समयमा ठीक निर्णय लिन सक्ने बुद्धि ठूलो हो । सहस्रबुद्धि हुनुभन्दा एकबुद्धि हुनु व्यावहारिक हो, देख्यौ ?’ भ्यागुताको कुरा सुनेर भ्यागुती मुसुक्क हाँसी ।

 

प्रकाशित मिति : बैशाख १८, २०७८ शनिबार  २ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।