Logo

अर्थ

प्रभु बैंकका म्यानेजर नन्दराज जोशी पक्राउ



काठमाडौँ । एसियन भिलेज रिसोर्टलाई प्रवाह गरिएको कर्जा रकम दुरुपयोग भएको आरोपमा प्रभु बैंकका म्यानेजर नन्दराज जोशी पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराका अनुसार रिसोर्टलाई कर्जा प्रवाह गर्दा कैफियत भएको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि जोशीलाई पक्राउ गरिएको हो। सिआइबी टोलीले उनलाई प्रभु बैंकको कार्यालयबाटै पक्राउ गरेको जनाएको छ।

जोशीलाई बिहीबार पक्राउ गरी अनुसन्धानका लागि चार दिन म्याद थप गरिएको छ। उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ। पक्राउका लागि उच्च अदालत पाटनबाट अनुमति लिइएको थियो।

सिआइबीका अनुसार रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि प्रभु बैंकबाट करिब ४८ करोड रुपैयाँ कर्जा लिइएको थियो। तर, उक्त रकम रिसोर्टको घोषित प्रयोजनमा प्रयोग नगरी सोही समूहअन्तर्गतका अन्य ऋणी कम्पनीको बक्यौता भुक्तानीमा प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यसअघि यसै प्रकरणमा एसियन भिलेज रिसोर्टका अध्यक्ष शशिधर शर्मा पक्राउ परिसकेका छन्। सिआइबीले कर्जा प्रवाह, प्रयोग तथा सम्भावित संलग्नता सम्बन्धमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार ०८:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।