बागलुङ । बागलुङमा पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको तीव्रगतीमा फैलीरहेका कारण सरकारी कार्यालयहरुको सेवा स्थगन गरेका हुन् ।
बागलुङ नगरपालिकाले आजदेखि यही माघ २१ गतेसम्मलाई अत्यावश्यक बाहेकका सबै नियमित सेवा सेवा बन्द गरेको छ । जनप्रतिनिधि, कर्मचारी र नगरवासीमा तीव्रगतिमा सङ्क्रमण फैलिएकाले सेवा प्रवाहलाई स्थगन गर्नुपरेको नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले जानकारी दिए ।
कर्मचारी नै सङ्क्रमित भएर आइसोलेशनमा बस्नुपरेकाले दैनिक सेवा सञ्चालनमा बाधा उत्पन्न भएको उनको भनाइ छ । कन्ट्याक्ट ट्रेसिङमा परेका कारणले पनि कतिपय कर्मचारी कार्यालय आउन सकेका छैनन् । नगरपालिकाअन्तर्गत वडा र विषयगत शाखाबाट प्रदान हुने सेवा पनि स्थगन भएको जनाइएको छ ।
बढ्दो सङ्क्रमणलाई दृष्टिगत गरी जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयले अबदेखि स्थानीय तहअनुसार दिन बाँडेर सेवा दिन थालेका छन् । बैंक तथा वित्तीय संस्थासहित सबै सार्वजनिक निकायबाट सेवा लिन १८ वर्ष उमेर पुगेका व्यक्तिलाई खोप कार्ड अनिवार्य गरिएको छ ।
स्वास्थ्य कार्यालयको आँकडाअनुसार जिल्लामा हाल ५४१ कोरोनाका सक्रिय सङ्क्रमित छन् । पछिल्ला दिनमा सङ्क्रमितको स्ख्या बढ्दो क्रममा छ । बिहीबार मात्र ८८ जनामा कोरोना पुष्टि भएको छ ।




















प्रतिक्रिया