Logo

समाचार

यस्तो रहनेछ सोमबार बिहानसम्मको मौसम



काठमाण्डौं । हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले बदली गराउनुका साथै देशका कतिपय भेगमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको उच्च पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ साथै तराईमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो ताप्लेजुङ, ओखलढुङ्गा, पोखरालगायत स्थानमा वर्षा भएको छ । पोखरामा असिना पानीसहित वर्षा भएको छ । पोखरामा सबैभन्दा बढी १९ मिलीमिटर वर्षा भएको छ । वर्षाले पोखराको हवाई उडान पनि प्रभावित बनेको छ । बुद्ध एयरले तीन उडान रद्द गर्नुपरेको जनाएको छ ।

काठमाडौँ उपत्यकामा आकास गड्याङगुडुङसहित पूर्ण बदली भएको छ । बदली र वर्षाले बढी चिसो महसुस गरिएको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र देशको पहाडी भेगका केही स्थानमा स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आज राति पनि देशको उच्च पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशको पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । भोलि सोमबार पनि देशको पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशको पहाडी भूभागको केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । रासस

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार ०९:१८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।