Logo

समाचार

भवानी खतिवडाको नियात्राकृति ‘घामभन्दा पहिले’ बजारमा



नियात्राकार भवानी खतिवडाको नियात्राकृति ‘घामभन्दा पहिले’ प्रज्ञाप्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा विमोचन भएको छ ।
कार्यक्रममा शिखा बुक्सका निर्देशक पुष्पराज पौडेलको अध्यक्षता एवम् वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलको प्रमुख आतिथ्य रहेको थियो । त्यसैगरी वरिष्ठ साहित्यकारहरु निर्मोही व्यास, युवराज नयाँघरे,अशेष मल्ल, प्रा.डा सावित्री मल्ल कक्षपती, नियात्रा समाजका अध्यक्ष प्रतीक ढकाल, साहित्यकार महेश पौड्याल, प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयका प्रमुख विष्णु भट्टराई, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष भोलानाथ पोखरेल नेपाल सरकारका सहसचिवद्वय सावित्री बराल र वासुदेव काफ्ले अतिथिको रुपमा उपस्थित थिए ।


कार्यक्रममा प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयका प्रमुख विष्णु भट्टराई, नेपाल सरकारका पूर्व सचिव खगराज बराल, वरिष्ठ नियात्राकार निर्मोही व्यास, वरिष्ठ साहित्यकार युवराज नयाँघरेले कृतिकारलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका थिए । वरिष्ठ साहित्यकार निर्मोही व्यासले छोटो समयको साधनाबाट नै यति गहकिलो नियात्रा जन्माउने अनुज साहित्यकार भवानी खतिवडालाई थप सफलताको शुभकामना दिएका थिए ।

त्यसैगरी निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष भोलानाथ पोखरेलले निजामती क्षेत्र र ट्रेड युनियन आन्दोलनकी अथक योद्धाको कलमबाट अत्यन्त कोमल, वैचारिक हिसाबले निखारिएको कृति जन्मिएकोमा हर्ष व्यक्त गरे । साहित्यकार महेश पौड्यालले भवानी खतिवडाको नियात्रामा प्रकृति, भूगोल, पर्यावरणीय चेतना, स्थानीयप्रतिको सम्मान, माटोको सुवास मग्मगाएको र कृतिकारको निर्भीक ऊर्जाशील व्यक्तित्व झल्किएको पाएको भन्दै छन्दकविताको बाटोमा हिँड्दै गरेकी स्रष्टाको नियात्रा पढ्दा सुललित काव्य पढेको आभास हुन्छ भनेर समिक्षात्मक मन्तव्य व्यक्त राखेका थिए ।

प्राध्यापक डा. सावित्री मल्ल कक्षपतीले नियात्राकारले यात्रामा भेटिएका स्थानीय पात्रहरूसित संवाद गरिहाल्ने, स्थानीय रीति, संस्कृति र जनश्रुति बटुलेर नियात्रामा सजाउने कलाको प्रशंसा गर्नुभयो । देखे÷भेटेका दृश्य र भोगेका घटनालाई मिठासपूर्ण ढङ्गले पस्किने शैलीले नियात्रालाई थप उजिल्याएको कुरा व्यक्त गर्दै कृति सफलताको शुभकामना व्यक्त गरेकी थिइन् । नियात्रा समाजका अध्यक्ष प्रतीक ढकालले भवानी खतिवडा यात्रासँग मन मिसाएर लेख्ने नियात्राकार हुन् । उनको नियात्राले देशभक्ति र वीरताको गीत गाएको छ । स्थानीय मिथक र जनश्रुतिको अनुगुञ्जन पनि छ । घामभन्दा पहिलेजस्तै प्राञ्जल र मोहक नियात्राकृतिहरू भवानीका कलमले लेखिरहून् भन्ने कामना गरेका थिए ।

महेश कार्की क्षितिजले सञ्चालन गरेको कार्यक्रममा नेपाल सरकारका तर्फबाट उच्च पदमा रहेका कर्मचारी, साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार ११:३२   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।